बालकुमारी घटनाका मृतकका परिवारलाई रोजगारी र थप राहत दिन सरकारलाई निर्देशन
काठमाडौँ- संसदीय समितिले बालकुमारी घटनाका मृतकका परिवारका सदस्यलाई रोजगारी र थप राहत दिन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले बालकुमारी घटनामा मारिएका दुई जनाको परिवारलाई थप राहत दिन र उनीहरूको परिवारलाई रोजगारी दिन निर्देशन दिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अंगका प्रमुखसँगको छलफलपछि समितिले उक्त निर्देशन दिएको हो । गएको शुक्रबार ललितपुरको बालकुमारीमा इपिएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो ।
सोही विषयमा छलफल गर्न बसेको समिति बैठकका निर्णयहरू:
१. पुस १३ गते शुक्रबार भएको इपिएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप राहत दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।
२. दुवै मृतकका परिवारलाई रोजगारीको अवसर दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने ।
३. घटनासँग सम्बन्धित साना दर्जाको प्रहरी तथा कर्मचारीलाई मात्र निलम्बन र सरुवा गरी समस्याको समाधान नगर्न र काम गर्नेको मनोबल नगिर्ने गरी न्यायोचित समाधान गर्न नेपाल सरकार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।
४. उक्त घटना घट्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालयको भूमिकाबारे पनि छानबिन गर्न निर्देशन दिने ।
५. यस प्रकारको घटना अब आइन्दा नहोस् भनी सम्बन्धित सबै पक्ष सजग रहन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।
६. सुरक्षा निकायलाई आवश्यक स्रोत साधन पर्याप्त उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया