सरकार र बालकुमारी घटनामा मृत्यु भएका परिवारबीच ४ बुँदे सहमति
फाइल तस्बिर
सरकार र बालकुमारी घटनामा मृत्यु भएका परिवारबीच ४ बुँदे सहमति
काठमाडौँ- सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतक परिवारबीच चार बुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतक परिवारबीच भएको छलफलमा चार बुँदे सहमति भएको हो ।
गत शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो ।
ज्यान गुमाउनेमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाह रहेका छन् ।
मृतक परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरिसकेकोमा आज मृतक परिवारका सदस्य एक-एक जनालाई रोजगारी दिने सहमत भएको छ ।
त्यसका साथै सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने सहमति भएको छ । दुवै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुवै जनाको शव परिवारले बुझ्ने सहमति भएको छ । शव सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख छ ।
सरकारको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालले पनि हस्ताक्षर गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया