राजनीति

उद्योगमन्त्री रिजाल​ले सार्वजनिक गरे नौ महिनाको प्रगति विवरण

इकागज |
पुस १६, २०८० सोमबार २१:७ बजे

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्ला नौ महिनामा औद्योगिक क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र उपभोक्तामैत्री बजार स्थापित गरेको जनाएको छ । 

उद्योग मन्त्रीका रूपमा रमेश रिजालले कार्यभार सम्हाले यता संस्थागत सुधार, बजेट कार्यान्वयन, कानुन निर्माणलगायत क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ । 


मन्त्री रिजालको नेतृत्वपछि नेपाल आयल निगमको सुधारसँगै बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमटर पेट्रोलियम पाइप लाइन विस्तार तथा भारतको सिलिगुडीदेखि झापाको चारालीसम्म ५० किलोमिटर पेट्रोलियम पाइप लाइन निर्माण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पोखरामा नयाँ इन्धन भण्डारण गृहको शिलान्यास र सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने सुविधाको सुरुआत, पेट्रोलियम पदार्थको अटो बिलिङ्ग तथा ट्याङ्कर लक सिस्टमजस्ता प्रमुख काम मन्त्री रिजालको आगमनपछि सम्पन्न भएको छ । 

त्यस्तै चीनसँगका प्रमुख दुई नाका तातोपानी नाका र रसुवागढी केरुङ सञ्चालन ल्याइनु, करिब ११ महिनादेखि बस्न नसकेको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको बैठक सञ्चालन गर्न सफल हुनु, निर्यात अनुदान पाउने उद्योगको सङ्ख्या बढाइ कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा वृद्धि गर्न सक्नुलगायत उपलब्धि मन्त्री रिजालको अग्रसरतामा सफल भएको जनाएको छ । 

यस्तै १५ वटा मझौला उद्योग, एक सय ४२ हजार घरेलु तथा साना उद्योग, १० हजार कम्पनीलगायत चालू आवको मङ्सिर मसान्तसम्म २२ वटा ठूला उद्योग दर्ता भएका छन् । आव २०८०/८१ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि रु आठ अर्ब १३ करोड ८० लाख विनियोजन भएको मन्त्रालयले जनाएको छ । 

मङ्सिर मसान्तसम्म विभिन्न १७ वटा नीति तथा कानुन तर्जुमाका लागि अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको मन्त्रालयले जानकारी दिएको छ । 


Author

थप समाचार
x