राजनीति

डेडिकेटेड लाइनको समस्या चाँडै समाधान हुन्छ : अर्थमन्त्री महत

इकागज |
पुस १६, २०८० सोमबार २१:४६ बजे

मोरङ- अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्योल चाँडै समाधान हुने जानकारी दिएका छन् । 

मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा सञ्चालित १० दिने एक्स्पो–२०२३  समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्र मैत्री रहेकाले सम्झौता भएको छ कि छैन सबै यथार्थका आधारमा प्राधिकरण र उद्योगीबीच रहेको समस्याको समाधान निकालिने बताए ।


अर्थमन्त्री डा महतले सरकारले विदेशी सहयोगलाई पुनः संरचना गर्ने नीति लिएको जनाउँदै अत्यावश्यक एवं प्रतिफल दिने क्षेत्रमा मात्र विदेशी सहयोग र ऋण लिने जानकारी दिए । उनले आगामी वैशाखमा सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन मुख्य चार क्षेत्र जलविद्युत्, सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रको आधुनिकीकरण गर्ने नीति लिएको बताए ।

अर्थमन्त्री डा महतले निजीकरण समितिको चाँडै बस्ने बैठकले मुलुकमा बन्द भएका उद्योगहरूलाई निजी क्षेत्रलाई संलग्न गराएर जमिन चै राज्यको रहने गरी सञ्चालन गर्ने जानकारी दिए । 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मुलुकको आर्थिक चलायमन गराउन बैङ्कले उद्योग प्रवर्द्धनमा सहयोग गर्नुपर्ने सुझाव दिए ।

सङ्घका अध्यक्ष नवीन रिजाल र पूर्वअध्यक्ष प्रकाश मुन्दडा र नेपाल उद्योग परिसङ्घ प्रदेश अध्यक्ष पवन शारदाले उद्यमीहरूका समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग गर्न आग्रह गरे । एक्स्पो यही पुस ६ गतेदेखि विराटनगर–२ मुनालपथमा सञ्चालन भएको थियो ।


Author

थप समाचार
x