Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

राजनीति

पर्यटन मन्त्रीको आक्रोशः सबै धर्म समान भन्दा राजीनामा माग्ने ?

इकागज |
पुस १७, २०८० मंगलबार १९:१० बजे

फाइल फोटो

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

मंगलबार काठमाडौंमा यश कुमारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उनले आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गरेका हुन् । उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताए । उनले नेपाली समाज र मान्ने वा नमान्ने अर्को पाटो रहेको बताए । मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको बताए । उनले आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको बताए । 


उनले भने, ‘हुनतः अहिले केही मान्छेहरूले जानेर वा नजानेर त्यही व्यवस्थालाई ल्याउन खोज्दैछन् । अब नेपाली समाजले मान्छन् की मान्दैनन् ? पचाउँछन् की पचाउँदैनन् ? खोज्दैछन् । सुदन किराँतीले संविधानको व्याख्या गर्छ, यो देश जिम्मा लिन्छु भन्ने नयाँ, युगको नेतृत्व गर्छु भन्ने मान्छेले हालेको डाँकमै आँखामा कचेरा नबिझ्ने स्टाटस लेख्छ, राजीनामा । हुँदैछ के ? के संविधानको व्याख्या गर्नु नहुने ? सबै अस्तित्व सम्मान छ भन्नु नहुने ? राजीनामा दिनुपर्ने ? के मेरो निधारमा मन्त्रीको छाप छ ? म त अहिले दिन तयार छु । यो पद भन्दा देश ठूलो छ । म धर्म मान्छु, मेरो धर्म नेपाली हो, मेरो मन्दिर देश हो, मेरो भगवान जनता हुन् । के हुँदैछ ?’

मन्त्री किराँतीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको बताए । उनले भावनामा आएर मात्रै देश नचल्ने बताए । मेयर साम्पाङप्रति लक्षित गर्दै उनले मेयरको कार्यालयमा राजाको फोटो झुन्ड्याइएको भन्दै यसरी समाज कता जान्छ भन्दै प्रश्न गरे । 

उनले भने, ‘आज नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइयो, ठिकै छ त । भावनामा आएर मात्रै हुँदैन । कसैको मेयरको अफिसमा राजाको फोटो छ रे । फर्किने उल्टो हो त । गोरु पछिपछि गाढा अघि अघि । यो गतिविधिले जान्छ कता समाज ? देश जिम्मा लिन्छु भन्ने साथीहरूले गम्भीरताका साथ समीक्षा गर्नुपर्छ । मलाई त मन्त्री पदमा बसिराख्नु भन्ने छैन । पहिल्यै छोडिदिन्छु आउनुस् साथीहरू भनेकै छु । बुवाआमाले सल्लाह गरेर यो छोरालाई मन्त्री बनाउनैपर्छ भनेर जन्माएको पनि होइन । एउटा किसानको छोरो हो भयो । फोटो झुन्ड्याएर होइन केही काम गरौँ भनेर लागेको छु, कसैले हात कसैले खुट्टा समात्छ । कसैले पासो लाउँछ, के अपराध गरेँ, मैले त अपराध गरेको छैन । पशुपति हाम्रो सभ्यता र सम्पदा हो । सभ्यताको पनि सभ्यता हो । त्यहाँ गएर गू, मुत सोह्रेँ । मलाई पशुपति विरोधी नै बनाउन खोजे, पशुपति त भगवान नै रहेछ । पशुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरू अन्ततः हारे ।’ 

मन्त्री किराँतीले आफूलाई पशुपति विरोधी नै बनाउनेहरूले पशुपतिकै नाम जपेर आफ्नो राजीनामा मागेपनि अन्ततः हारेको बताए । उनले पशुपतिनाथको आफूले धेरै सेवा गरेको भन्दै पशुपतिनाथ भगवान नै रहेको बताए । 


Author

थप समाचार
x