सांसद तोसिमा कार्कीले भनिन: केएमसीले डा. दाहाललाई ज्यादती गर्यो
तस्विरः फाइल फोटो
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सासंद तोसिमा कार्कीले आवासीय चिकित्सक विशद दाहालमाथि केएमसी अस्पतालले ज्यादती गरेको बताएकी छन्।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार बोल्दै कार्कीले दाहालमाथि भएको घटनाबारे सम्बन्धित निकायहरूलाई झिकाएर जानकारी लिनुपर्ने उल्लेख गर्दै समितिको ध्यानाकर्षण गराएकी छिन्।
'अहिले पनि दाहालसहित आवासीय चिकित्सकहरूको टोली सडकमै धर्ना बसिरहेका छन्। गेटमा बाउन्सरहरू राखेर भित्र छिर्न दिइएको छैन,' उनले भनिन्, 'विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग सबै ठाउँमा उहाँहरू गइसक्नुभयो। त्यसैले यो हाम्रो चासोको विषय हुनुपर्छ। यसबारे सम्बन्धित निकायलाई बोलाएर सोध्ने हो कि!'
उनले अस्पताल प्रशासनले डा. दाहालको फोटो गेटमा टाँसेर उनीमाथि अपराधीजस्तो व्यवहारको गरेको बताइन्। दाहाललाई रोक्न अस्पतालले गेटमा बाउन्सरहरू राखेको र आन्दोलनरत चिकित्सकहरूमाथि हातपात गरेको उनको भनाइ छ।
केएमसीले आवासीय चिकित्सकहरूलाई सरकारी अस्पताल मात्र नभएर निजी क्लिनिकहरूमा समेत हेल्थ क्याम्प गर्न बाध्य पारेको सूचना आफूले पाएको उल्लेख गर्दै उनले भनिन्, 'आवासीय चिकित्सकले भनेको अस्पतालमा ड्युटी गर्दै पढ्ने हो। उहाँहरूलाई सरकारी अथवा सम्बन्धित मेडिकल कलेज अन्तर्गतका सार्वजनिक ठाउँहरूमा पर्यवेक्षकको निगरानीमा हेल्थ क्याम्पमा पठाउने हो तर यहाँ त चिकित्सकहरूको आधाभन्दा बढी समय खर्च हुने गरी र पूर्वजानकारी समेत नदिई पठाइँदो रहेछ ।'
डा. दाहालबारे समितिमा कुरा उठेपछि सभापति भानुभक्त जोशीले शिक्षा सचिव सुरेशअधिकारीलाई केएमसीमा कुनै अप्रिय घटना घट्न नदिन र घटनाबारे सबै जानकारी गराउन निर्देशन दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया