भारतसँग भएको सम्झौताका बारेमा प्रधानमन्त्रीसँग जानकारी लिने कानुन समितिको निर्णय
काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले भारतसँग भएको सम्झौताका बारेमा प्रधानमन्त्रीसँग जानकारी लिने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सहमति र सम्झौताका विषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको हो ।
बैठकमा केही समिति सदस्यहरूले नेपाल र भारतबीच भएका केही सम्झौता मुलुकको हितविपरीत हुन सक्ने भएकाले सरकारसँग जानकारी माग गर्नुपर्ने धारणा राखेका थिए । सांसदहरूको मागपछि समिति सभापति विमला सुवेदीले सम्झौताका विषय समितिको पनि क्षेत्राधिकार भएकाले यस विषयमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको बताए ।
बैठकमा समिति सदस्य महेश बर्तौलाले नेपाल र भारतका बीच भएको सम्झौतामाथि विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको बताए । उनले समानान्तर सरकारको अभ्यास गर्ने गरी भारतलाई अधिकार दिएको भन्ने कुरा पनि आएकाले सम्झौताका बारेमा प्रधानमन्त्रीले समितिमा जानकारी गराउन माग गरे ।
त्यस्तै समिति सदस्य सन्तोष परियारले अन्तर्राष्ट्रिय सहमति सम्झौता समितिको कार्यक्षेत्रभित्र पर्ने भएकाले भारतसँग भएका सहमतिबारे जानकारी लिनुपर्ने बताए । उनले सरकारले राज्यलाई लामो समयसम्म असर पर्ने कुनै पनि सन्धि सम्झौता गर्न नहुने उल्लेख गरे ।
अन्य समिति सदस्यहरूले पनि भारतसँग भएको सहमतिका बारेमा सरकारले समितिमा आएर प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया