राजनीति

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादबारे छानबिन गर्न समिति गठन

इकागज |
पुस २४, २०८० मंगलबार १८:४२ बजे

काठमाडौँ- सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल सम्बन्धमा उठेका विषयबारे छानबिन गर्न समिति गठन गर्ने र हाललाई उद्योगीहरूको काटिएको विद्युत् लाइन खोल्न निर्देशन दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव रहेको समिति गठन गर्ने निर्णय गरेको हो । 

आजको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ । साथै सो पदमा नियुक्तिका लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोकेको छ । 


राष्ट्रिय विकास परिषदमा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी/व्यक्तिमध्येबाट २५ जना सदस्यहरू मनोनयन गर्ने समेत आजको बैठकले निर्णय गरेको छ । साथै विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेकाहरूको विवरण सच्याउने र नेपाल राजपत्रमा प्रकाशन हुन छुटेकाको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने पनि निर्णय गरेको छ ।


Author

थप समाचार
x