राजनीति

राष्ट्रिय सभा निर्वाचन : उम्‍मेदवारविरुद्धका उजुरीमा आजबाट जाँचबुझ

इकागज |
पुस २५, २०८० बुधबार ८:१९ बजे

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उम्‍मेदवारविरुद्ध दाबीविरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ । सोमबार मनोनयन दर्ता गरेको उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने समय तोकिएको थियो । मनोनयन दर्ता गरेका दुई जना उम्‍मेदवारविरुद्ध उजुरी परेकाले आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उम्‍मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उम्‍मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।


भट्टविरुद्ध एमालेका उम्‍मेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्‍मेदवार विकविरुद्ध एमालेकै उम्‍मेदवार हिक्मत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज र भोलि जाँचबुझ गरी उम्‍मेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उम्‍मेदवारको नाम फिर्ता र उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्‍मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ ।


Author

थप समाचार
x