राजनीति

कर्मचारीको स्वार्थका कारण युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला हुन सकेन : अध्यक्ष तिमिल्सिना

इकागज |
पुस २६, २०८० बिहीबार १८:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीको स्वार्थका कारण युरोपियन युनियनले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले केही कर्मचारी र पार्टीको स्वार्थका कारण नागरिक उड्डयन ऐन अघि बढ्न नसकेको र जसका कारण हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका हुन् । नागरिक उड्डयनको नियामक र सेवाप्रदायक छुट्टै बनाउने कानुनमा कर्मचारीले विरोध गर्दा तत्कालीन अवस्थामा मन्त्री र प्रधानमन्त्री कानुन ल्याउनबाट पछि हटेको उनले तर्क गरे ।​


अध्यक्ष तिमिल्सिनाले अहिले पनि यसअघिको नागरिक उड्डयन ऐनलाई अघि बढाउन सके दुई हप्तामा पास हुन सक्ने धारणा राखे । आफूहरूले युरोपियन युनियनका पदाधिकारीसँग यस विषयमा कुरा राखे पनि मुलुकमा भने सरोकारवालाले अग्रसरता लिन नसकेको गुनासो गरे ।​ उनले स्वार्थका आधारमा देश चलाउँदा बेथिति बाहेक केही नहुने जिकिर गरे । इमान्दारीपूर्वक लागे देश बनाउन कुनै समस्या नरहेको उनको भनाइ छ । 


Author

थप समाचार
x