राजनीति

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारले तीन लाख ५० हजार खर्च गर्न पाउने

इकागज |
पुस २९, २०८० आइतबार १२:२९ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले तीन लाख खर्च गर्न पाउने भएका छन् । २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार खर्चको हद तोकेको हो । 

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची-१ ले तीन लाख पचास हजार मात्रसम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ । 


उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने छ ।

उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ । 

त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोगले अनुरोध गरेको छ । 


Author

थप समाचार
x