राजनीति

बाटोले विकासको सम्भावना खुलेको छ : अर्थमन्त्री महत

इकागज |
माघ १, २०८० सोमबार १९:३० बजे

नुवाकोट- बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत् गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले काठमाडौँबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर आफैँले प्रस्ताव गरेको बताए ।

उनले भने, 'मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाडौँ हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाडौँबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ । अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ ।’


उनले भने, ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, बिजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरित भएको छ । ०४६ सालपछि विकास गाउँ पस्यो । सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाइ तथा नागरिक सशक्तीकरण प्रारम्भ भयो ।’ 

महोत्सवमा विभिन्न खालका उत्पादन प्रदर्शनीमा राखिएकोमा खुशी व्यक्त गर्दै मन्त्री महतले भने, ‘रासायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको छ । सडक बनेको छ, काठमाडौँ पुग्न सजिलो छ । ४५ मिनेटमा काठमाडौँ पुगिन्छ ।’

नुवाकोट जिल्लामा बजेट राम्रोसँग नपरेको बताउँदै उनले भने, 'डा. रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटो निर्माणका धेरै योजना आएका थिए । त्यसपछि केही समय रोकिएको थियो । अहिले जगतेदेखि गोल्फु भञ्ज्याङसम्मको बाटोका लागि एक अर्ब २० करोड रुपैयाँको ठेक्का प्रकृया अघि बढिसकेको छ । ककनी जाने बाटोमा पनि एक अर्ब ३० करोड रुपैयाँको ठेक्का प्रकृया अगाडि बढिसकेको छ । सूर्यगढी जोड्ने, पञ्चकन्याबाट गोल्फु भन्ज्याङ जाने बाटोका लागि बजेट विनियोजन गरिएको छ ।'

मन्त्री डा. महतका अनुसार उत्पादन क्षेत्रसँग जोड्ने बाटो निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने सिँचाइ आयोजनाका योजनाहरू पनि राखिएको छ ।


Author

थप समाचार
x