राजनीति

पुनर्वहाली भएपछि कृष्ण थापा भन्छन्  : मलाई हराउने योजना बनाएका थिए पुरा हुन सकेन

अनिष भट्टराई |
जेठ २३, २०७८ आइतबार १७:९ बजे

पोखरा : पार्टीको कारबाहीपछि पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा रिट लिएर सर्वाेच्च अदालत पुगे । पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनलाई पार्टीको साधारण सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सबैबाट हटाएपछि उनी सर्वाेच्च पुगेका थिए । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णय उनले नमानेपछि उनलाई कारबाही गरिएको थियो । 


तर, आज सर्वाेच्च अदालतले उनलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको छ ।  अदालतले पुनर्वहाली गर्ने आदेश दिएपछि इकागजले उनै थापासँग संक्षिप्त प्रतिक्रिया लिएको छ । उनले कम्युनिष्ट एकता हुनुपर्छ भन्दै आएकोले कांग्रेसलाई सहयोग नगरेको पुन दोहोर्‍याए । 

उनले गलत मनसाय बोकेकाहरुले हराउने योजना बनाए पनि पुरा हुन नसकेको प्रक्रिया दिए । ‘कम्युनिस्टहरुको एकता हुनुपर्छ भन्दै आएको छु । मलाई गलत मनसाय बोकेको गठजोडले हराउने योजना बनाए पनि पुरा हुन सकेन,’ उनले भने, ‘गण्डकीलाई विघटनको बाटोमा जान दिनु हुँदैन । विघटनमा जान नदिने मेरो भुमिका हुन्छ ।’ 

उनले आफूलाई निर्दलीय व्यवस्था जस्तो गरेर हटाएको भन्दै आपत्ति पनि जनाए । ‘लोकतन्त्रमा निर्दलीय व्यवस्था जस्तो गरेर हटाए,’ उनले भने, ‘साना दलले अहिले विवेक देखाएर स्टेप लिनुपर्छ होइन भने प्रदेश विघटन हुन सक्ने अवस्था आउँछ ।’  


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x