१२ वर्षअघिदेखि ग्राउन्डेड भइ मर्मत भइरहेका नेवानीका ट्वीनअटर जहाजको निरीक्षण
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले १२ वर्षअघिदेखि ग्राउन्डेड भइ मर्मत भइरहेको नेपाल वायुसेवा निगम (नेवानी) को ट्वीनअटर जहाजको निरीक्षण गरेका छन् ।
बिहीबार त्रिभुवन विमानस्थल पुगेर मन्त्री किरातीले मर्मत भइरहेका तीनवटा ट्वीनअटर जहाजको अवस्थाबारे निरीक्षण गरेका हुन् । लामो समय बिग्रिएर थन्किएको ट्वीनअटर मर्मत भएपछि दुर्गम क्षेत्रमा उडान भर्ने मन्त्री किरातीले जानकारी दिए । ट्वीनअटर मर्मत सकिएसँगै सञ्चालन हुन नसकेका विमानस्थलहरूलाई पनि सञ्चालनमा ल्याइने उनले बताए ।
त्यस्तै उनले प्राविधिक समस्या आएका कारण केही दिन ग्राउन्डेड भएर पुन: सञ्चालन भएको निगमको वाइडबडी विमानको पनि निरीक्षण गरे ।
वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि निगमको वाइडबडी विमान केही दिन ग्राउन्डेड भएको थियो । मर्मत भएसँगै दुबई उड्न लागेको विमानको अवस्थाबारे मन्त्री किरातीले जानकारी लिए । उनले निरन्तर उड्ने विमानमा प्राविधिक समस्या देखिएपछि मर्मत गरी समस्या समाधान गरिएको बताए ।
त्यस्तै मन्त्री किरातीले विमानस्थलको अवस्थाबारे पनि जानकारी लिँदै न्यूनतम स्रोत साधनको प्रयोग गरेर यात्रुमैत्री बनाउन खोजिएको र जसका कारण यात्रुहरूलाई सहज हुने उल्लेख गरे ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीले विगतको तुलनामा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूको संख्या ३० प्रतिशत बढेको र आन्तरिक यात्रुको पनि संख्या बढेकाले पूर्वाधारको विस्तारमा ध्यान दिइएको उल्लेख गरे । अन्तर्राष्ट्रिय टर्मिनलमा सुधारका काम भइरहेको भन्दै उनले आन्तरिक टर्मिनलको आवागमन कक्ष विस्तार भइरहेको बताए ।
मन्त्री किरातीले विमानस्थलको पार्किङमा देखिएको समस्या पनि समाधान गर्ने गरी काम भइरहेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया