राजनीति

सवारी ऐनमा एकरूपता कायम हुन्छ : मन्त्री ज्वाला

इकागज |
माघ ४, २०८० बिहीबार २१:१४ बजे

काठमाडौंँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी ऐन बनाउँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच एकरूपता कायम गर्नका लागि गृहकार्य भइरहेको बताएका छन् । 

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवाला निकायसँग मन्त्रालयमा आज आयोजित छलफलमा मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न एकरूपता हुने गरी पहल भइरहेको बताए । मन्त्री ज्वालाले अब बन्ने ऐनमा एकरूपता ल्याउनका लागि प्रदेश सरकारसँग यस विषयमा तीन पटक बैठक बसिसकेको बताउँदै प्रदेश सरकारका यातायातमन्त्री र सचिवसँग थप छलफल गर्न यही माघ ७ गते बैठक राखेको जानकारी दिए ।


व्यवसायी र मजदुर सङ्गठनको ड्राइभिङ स्कुल खोल्ने प्रस्तावलाई ऐनमा व्यवस्था गरिएको बताउँदै उनले भने, 'ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्नेगरी हामीले तयारी थालेका छौं ।' छलफलमा मन्त्रालयका सचिव केशव शर्माले फरक–फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधन अहिले सञ्चालनमा रहेको भन्ने अभिलेखसम्म सरकारसँग नभएको बताए । 

छलफलमा स्वरोजगार यातायात मजदुर सङ्गठन, एकीकृत यातायात मजदुर सङ्गठन, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल मजदुर सङ्घ, नेपाल यातायात मजदुर सङ्घका पदाधिकारी सहभागी थिए । छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीको पनि सहभागिता थियो । 

छलफलमा व्यवसायी र मजदुर सङ्घ, सङ्गठनका पदाधिकारीले ऐनका कारण ठूलो समस्या झेलेको गुनासो गर्दै दक्ष चालक पाउन मुस्किल भएको, दक्ष चालकको अभावमा दुर्घटना बढ्न थालेकोमा चिन्ता व्यक्त गरे । मन्त्रालयले सवारी ऐन २०४९ संशोधन गर्न सरोकारवाला निकायसँग छलफल गरी सुझाव सङ्कलन गरेको हो 


Author

थप समाचार
x