राजनीति

प्रदेश-२

जसपाको दलको नेता चयन गर्नु अवैधानिक : ठाकुर समूह

सुभाष कर्ण |
जेठ २३, २०७८ आइतबार २०:५७ बजे

जनकपुरधाम : जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहले प्रदेश २ मा संसदीय दलको नेता चयन ‘अवैधानिक’ भएको जिकिरसहित महन्थ ठाकुर समूहले ‘हास्यास्पद निर्णय’को संज्ञा दिएको छ । पार्टी अध्यक्ष यादवको उपस्थितिमा जनकपुरधाममा बसेको आन्तरिक बैठकबाट संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको थियो ।

जसपा नेता चयनबारे तत्कालीन राजपाका संसदीय दलका नेता एवं जसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले आश्चर्य व्यक्त गर्दै आफूहरु त्यसबारे अनभिज्ञ रहेको बताए । ‘त्यसरी नेता चयन गरिएको संचार माध्यमबाट थाहा पायौंं’ सोनलले इकागजसँग कुरा भने, ‘विधान नै नरहेको अवस्था दलको नेता चयन गर्नु गलत हो ।’


उनले जसपाको विधान नै पारित नभएको अवस्था दलको चयन गर्नु आफैँमा हस्यापद रहेको छ । दलको नेता चयन गर्ने अधिकार पार्टीको विधानअनुरुप प्रदेश समितिमा निहित भएको जानकारी दिए ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत सोनलले भने प्रदेश समितिद्वारा निर्वाचन प्रणालीमार्फत् दलको नेता चयन गर्नुपर्ने प्रावधान भएको बताए । उनले भने, ‘तर ती प्रक्रिया मिची कुनै एक अध्यक्षले आफू अनुकूल मनपरी ढंगले विधान पारित र दलको नेता चयन गर्नु अवैधानिक हो । हामी त्यसलाई मान्दैनौं ।’

त्यस्तै, प्रदेश सभा सदस्य एवं पूर्व राजपाका प्रमुख सचेतक परमेश्वर साहले दलको नेता चयनबारे आश्चर्य व्यक्त गर्दै भने, ‘यसबारे आफूहरुलाई कुनै औपचारिक छैन । बैठक कहाँ बस्यो ? कसले गठन गर्‍यो ? कुन प्रक्रियाबाट गरियो केही जानकारी भएन । चोर-बाटोबाट दलको नेता चयन गरेको भए बेग्लै कुरा हो । त्यसरी गरिएको हो भने अवैधानिक र गैरकानूनी काम हो ।’ 

अध्यक्ष यादवको उपस्थितिमा बैठक गरी तत्कालीन समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुको हस्ताक्षरमा मुख्यमन्त्री लालबाबु राउतलाई  दलको नेतामा चयन गरेका हुन् । त्यसमा तत्कालीन सपाका ३० र राजपाका ८ जना गरी ३८ जनाको हस्ताक्षर छ ।

हाल प्रदेश-२ समाजवादी फोरमका ३०, राजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ तथा एक स्वतन्त्र गरी कुल १०४ जना सांसद छन् । सरकार गठन गर्न ५३ जना प्रदेश सभा सदस्य चाहिन्छ । सपा, कांग्रेस र माओवादी मिल्दा ५७ सदस्य पुग्छ ।

यसअघि प्रदेशसभाको सदस्य संख्या १०७ रहेपनि माओवादी केन्द्रले एमालेमा गएका  चार सांसदलाई कारबाही गरेको थियो । यो हिसाबले प्रदेश–२ मा सरकार गठन गर्न ५३ जना सांसद भए पुग्छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x