राष्ट्रिय सभा निर्वाचनः मतपत्र सातै प्रदेशमा पुर्याइयो
फाइल तस्बिर
काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मतपत्र सातै प्रदेशमा पुर्याएकाे छ । माघ ११ मा हुने निर्वाचनका लागि आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरू छपाई गरी सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा शुक्रबार पुर्याएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरू छपाई भएका छन् ।
प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरू रहेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरू रहेका छन् ।
२०८० फाल्गुन २० गते देखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते सम्बन्धित प्रदेशका तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा बिहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म हुने मतदान प्रयोजनका लागि ३८ प्रकारका कूल ६९१० मतपत्रहरू छपाई गरी पठाइएको छ । यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि २०८० फाल्गुन २१ गते देखि ६ वर्षसम्म रहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया