राजनीति

दाङमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन

प्रदर्शनमा सहभागी ८ जना पक्राउ

इकागज |
जेठ २३, २०७८ आइतवार २१:२२ बजे

बुटवल  : दाङमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला कमिटिले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ । चुरे दोहन रोक्नुपर्ने र उपप्रधानमन्त्री महतो अभिव्यक्तिको विरोधमा विद्यार्थी संगठनले आइतबार बेलुका घोराहीमा मसालजुलुस निकाल्दै पुत्ला जलाएका थिए ।

पुत्ला जलाउनेक्रममा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलीले हस्तक्षेप गर्दै पुत्ला नियन्त्रणमा लिई विद्यार्थ‍ीलाई तितरबितर पारेको थियो । प्रहरीले मसाल जुलुस  निकाल्नेक्रममा सुरुदेखि नै प्रहरी र विद्यार्थी नेताबीच जलाइएको पुत्ला खोसाखोस हुँदा तनाबग्रस्त बनेको थियो । प्रहरी हस्तक्षेपको विद्यार्थी नेताहरुले चर्को नाराबाजी गर्नुको साथै विरोध गरेका थिए ।


पुत्ला जलाउनेक्रममा प्रहरी र विद्यार्थी नेताबीच केहीबेर धकेलाधकेलले वातावरण जटिल बनेको थियो । मसाल जुलुस निकालेर पुत्ला जलाउँदै गरेको अवस्थामा अनेरास्ववियु क्रान्तिकारी दाङका संयोजक जंग रोकासहित ८ जना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले बताए । सरकारविरुद्ध र चुरे दोहनको विरोधमा निकालेको जुलुसकाक्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेज हुुनुपर्ने, नागरिक विधेयक सच्याउनुपर्ने, चुरे दोहनको निर्णय रोकिनुपर्ने, उपप्रधानमन्त्रीको राष्ट्रहित विपरीतको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने नेविसंघको माग छ । नसच्चिए उनलाई तत्काल पदमुक्त गरिनुपर्ने मागसहित क्रान्तिकारीले पुत्ला दहन गरेको हो । घोराहीको शहीदगेटमा निकालेको राँके जुलुस प्रहरीले नियन्त्रणमा लिई निभाएको हो ।

कोभिड महामारीका समयमा सरकार महामारी व्यवस्थापनमा भन्दा कुर्ची जोगाउन र देश लुट्ने खेलमा लागेको आरोप लगाउँदै प्रदर्शनकारीले तत्काल यी कदम सच्याउन सरकारसँग माग गरेका छन् । 


Author

थप समाचार
x