नेपाल वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुन्छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुने बताएका छन् ।
डोल्पो समाजको रजत जयन्ती एवं भवन उद्घाटनका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री किरातीले निगम यही व्यवस्थापनबाट नचल्ने भन्दै करार व्यवस्थापनबाट निगमलाई सञ्चालन गर्ने गरी अध्ययन कार्यदल बनाइने बताएका हुन् । यही आर्थिक वर्षमा पर्यटक गौरवको क्षेत्रहरू पहिचान गरी घोषणा गर्ने, पर्यटनका सुत्रहरू निर्माण गर्नका लागि संस्कृति नीति तयार गर्ने र पर्यटन ऐन संशोधन गरिने उनले बताए ।
मन्त्री किरातीले विमानस्थल सञ्चालन, व्यवस्थापन र निर्माणका लागि काठमाडौँलगायत भैरहवा पोखराका साथै नयाँ विमानस्थल निर्माण गर्ने कार्यका लागि पिपिपी मोडलमा जाने जिकिर गरे । यसका लागि अध्ययन समिति छिट्टै बनाउने उनको भनाइ छ । उनले १० वर्षमा ३५ लाख पर्यटन भित्र्याउन केही न केही जोखिम लिनै पर्ने उल्लेख गरे ।
यसअघि पर्यटनको योजना बने पनि रोडम्याप नबनेकाले आफूले बनाउन खोजेको उनले बताए । त्यस्तै मन्त्रि किरातीले अहिलेको संविधानअनुसार सबै धर्म संस्कृति बराबर भएकाले सबैले सबैको अस्तित्वलाई मान्नुपर्ने बताए ।
मन्त्री किरातीले माथिल्लो डोल्पामा पर्यटक भित्र्याउन आधारभूत सूचना र बासस्थानको व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा डोल्पो समाजका अध्यक्ष लगायतका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । डोल्पो समाज निमा रिन्पोछेद्वारा सन् १९९७ मा स्थापना गरिएको थियो । राजधानीमा बसोबास गर्ने डोल्पा समुदायहरूका लागि विभिन्न धार्मिक तथा सामाजिक कार्यहरू आयोजना गर्न गुम्बा र सामुदायिक हलहरूको आवश्यकता देखेर डोल्पो समाजको गुम्बा र सामुदायिक भवन निर्माण गरिएको निमा रिन्पोछेले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया