गुम्बा निर्माणका लागि पनि सरकारले बजेट विनियोजन गर्छ : स्वास्थ्यमन्त्री बस्नेत
हेलम्बु- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट विनियोजन गर्ने बताएका छन् ।
हेलम्बु गाउँपालिका-२ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार समुद्घाटन गर्दै मन्त्री बस्नेतले सरकारले यसै वर्षदेखि गुम्बा निर्माणका लागि बजेट विनियोजन गर्ने बताएका हुन् । गुम्बा विकास समितिका पदाधिकारीले गुम्बा निर्माणमा सरकारले सहयोग गर्नु पर्ने माग राखेका थिए ।
स्वास्थ्यमन्त्री बस्नेतले स्थानीय जनताको आवश्यकताअनुसार काम गर्न आफू तयार रहेको बताउँदै आफूले निर्वाचनका बेला प्रतिवद्धता व्यक्त गरेका विकास निर्माणका काम पाँच वर्षमा पूरा गरिछाड्ने दाबी गरे । बस्नेतले भने, ‘ यो वर्ष पनि हेलम्बुमा थुप्रै विकास योजना सुरु गरेका छौं । २६ करोड बजेट विनियोजन गरेका छौ । पाँच वर्षसम्म मैले प्रतिबद्धता गरेको भन्दा बढी काम गरेर देखाउने छु ।’
आपत विपतमा बेला सधैं जनताको सारथि भएर काम गरेको स्मरण गर्दै मन्त्री बस्नेतले हेलम्बुमा ४ वटा स्वास्थ्य केन्द्र निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको र सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । स्वास्थ्य क्षेत्रको सुधारका लागि यसै वर्ष ३२ हजार जनशक्ति थप्ने प्रस्ताव गरेको बताउँदै स्वदेशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने गरि काम गरिरहेको दाबी गरे ।
कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङले विकास निर्माणका काममा सबै राजनीतिक दलहरूको एक मत हुनु पर्नेमा जोड दिँदै सरकारले दीर्घकालीन योजनाका साथ अगाडि बढ्नु पर्ने बताए ।
बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङले बजेट कार्यान्वयनको चरणमा रहेकाले अहिले नै आत्तिनु पर्ने आवश्यकता नरहेको बताए । उनले पाँच वर्षभित्र आफूले बाचा गरेका विकास निर्माणका काम पूरा गर्ने दाबी पनि गरे । स्वास्थ्यमन्त्री बस्नेतको साथ र निर्देशनमा रहेर हेलम्बुको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना अगाडि राखेर काम भइरहेको उनले जानकारी दिए ।
गुम्बा विकास समितिका अध्यक्ष दावा नुर्वु लामाले भूकम्पपछि निर्माण सम्पन्न भएको सबैभन्दा ठूलो गुम्बाको उद्घाटन भएकोमा खुसी व्यक्त गर्दै गुम्बा निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । समारोहमा मन्त्री बस्नेतले गुम्बा निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेका थिए । समारोहमा पूर्व प्रदेश स्वास्थ्यमन्त्री निमा लामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, लामा गुरुहरू, समाजसेवी लगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया