सदन खुल्ने बितिक्कै शान्ति प्रकियाको बाँकी काम टुंगो लाग्छ : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी कार्य तत्कालै अघि बढ्ने बताएका छन् ।
असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगाण्डाबाट स्वदेश फर्के लगत्तै प्रधानमन्त्री प्रचण्डले संसद् अधिवेशन आव्हान हुने बित्तिकै टीआरसी विधेयकलगायत अघि बढ्ने बताएका हुन् ।
संसदको हिउँदे अधिवेशनबाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउने प्रधानमन्त्री प्रचण्डले बताए ।
आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइने जनाएका छन् ।
प्रधानमन्त्री दाहाल यही माघ ४ गते नामको शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका थिए ।
सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा सम्पन्न भएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी थिए ।
प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गरेका थिए ।
यस्तै सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी भए ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्रप्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया