राजनीति

आयोजनाको समय र लागत नबढाउनूस् : प्रम दाहाल

इकागज |
माघ ८, २०८० सोमबार १६:५१ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने बताएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्नुपर्ने बताएका हुन् । 


अनुगमनपछि प्रधानमन्त्रीले भने, 'हरेक आयोजनामा सुरुको लागत स्टिमेट जस्तो छ, त्यसरी नै काम सम्पन्न गर्ने सोच्नुपर्छ । समयमा काम नसक्ने, अनि पटकपटक समय र लागत बढाउने काम गर्नु हुँदैन । सुरुमै आयोजनाको लागत निकालेपछि पटकपटक समय र दायित्व थप्ने कुराले हाम्रो प्रशासनिक नियत र सामर्थ्यमा नै प्रश्न उठ्छ । त्यसले देशको अर्थतन्त्र र समृद्धिमा गम्भीर असर पार्छ ।'

प्रधानमन्त्रीले आफ्नो कार्यशैली बदलेर विकास र जनसेवाका काममा केन्द्रित हुन आयोजना प्रमुखहरूलाई निर्देशितसमेत गरे ।

अनुगमनपछि मुख्यसचिव बैकुण्ठ अर्यालले आयोजनामा देखिएका नीतिगत समस्या समाधानमा सरकारले ध्यान दिने बताउँदै आयोजना निर्माणको क्रममा फिल्डमा देखिने समस्या आयोजना प्रमुखहरूले नै समाधान निकाल्नुपर्ने बताए ।

एक्सन रूपबाट अनुगमनका क्रममा महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) का आयोजना निर्देशक कुशाङ्ग शेर्पाले आयोजनाको अवस्था, प्रगति विवरण र समस्याहरूबारे ब्रिफिङ गरेका थिए ।

सो क्रममा शेर्पाले आयोजनाको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै थप दायित्व नबढाइ निर्धारित समयमै आयोजना सम्पन्न गर्न आफूहरू गम्भीर भएको बताए । उनले स्रोतको व्यवस्थापन र मुआब्जामा देखिएको वित्तीय चुनौती सम्बोधनका लागि सरकारसँग आग्रहसमेत गरे । 


Author

थप समाचार
x