विमानस्थलहरूको सुधारका लागि भएका कामहरूको प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन
काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि भएका कामहरूको प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले निगम तथा मुलुकमा भएका विमानस्थलहरूको सुधारका लागि भएका अध्ययन तथा अनुसन्धानको प्रतिवेदन पेस गर्न नागरिक उड्डयन मन्त्रालय र निगमलाई निर्देशन दिएको हो । बैठकले मन्त्रिपरिषद् कार्यालयमा पठाइएको भनिएको नागरिक उड्डयनसम्बन्धी विधेयकको अवस्थाका बारेमा पनि समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानको अभावका कारण धेरै विमानस्थलहरू प्रयोगविहीन भएको भन्दै थप ३ वटा जहाज किन्ने तयारी भएको जानकारी दिए । उनले पुरानो ट्वीनअटर विमानलाई पनि मर्मत गर्ने काम भइरहेको बताए । पर्याप्त विमानहरू भए सबै विमानस्थलमा उडान गर्न सकिने उनको भनाइ छ ।
त्यस्तै उनले राजनीतिक हस्तक्षेप र कर्मचारीको काम नगर्ने प्रवृत्तिका कारण निगम धरासायी भएको भन्दै अब निगमको व्यवस्थापनलाई सुधार गर्ने जिकिर गरे ।
बैठकमा समिति सदस्यहरूले निगमको व्यवस्थापन कमजोर हुँदा निगम कमजोर हुँदै गएको बताएका थिए । उनीहरूले भएका जहाजहरूलाई नचलाउने र नयाँ किन्न खोज्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । समिति सदस्य माधवकुमार नेपालले अहिलेको अवस्थाका चल्न सक्ने विमानस्थललाई मात्रै सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले नयाँ विमानस्थलको सम्भाव्यता अध्ययन औचित्यका आधारमा गर्नुपर्ने सुझाव दिए ।
त्यस्तै बैठकमा निगमका प्रतिनिधिहरूले सिङ्गापुर, सिड्नी उडानका लागि तयारी भइरहेको र निगमले मुनाफा भन्दा पनि गुणस्तरीयता र सुरक्षालाई प्राथमिकता दिएको बताएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया