राजनीति

पूर्व न्यायाधीशहरूलाइ प्रधानमन्त्रीले भने, ‘बाहिरको भिड हेरेर न्याय सम्पादन हुन थाल्यो, रोक्नुहोस्’

इकागज |
माघ ११, २०८० बिहीबार ११:२१ बजे

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्  ।


पूर्व न्यायाधीश समाजका अध्यक्ष टोपबहादुर शिंहसहितका पूर्वन्यायाधीशहरूसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानुनको पालना गर्न लगाउन पूर्व न्यायाधीशहरूकाे भूमिकासमेत महत्वपूर्ण रहने बताए ।

प्रधानमन्त्रीले पूर्व न्यायाधीशहरुले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको बताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानुनको पालना भए नभएको बारे निरन्तर निगरानी गरिरहनु पर्ने औंल्याए ।

उनले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरूले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानुनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताए । 

प्रधानमन्त्रीसँगको छलफलमा पूर्व न्यायाधीशहरूले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानुनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राखे।


Author

थप समाचार
x