राजनीति

नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गराैँ : अर्थमन्त्री महत

इकागज |
माघ १३, २०८० शनिबार १४:४४ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको बताएका छन् ।

नेपाल मार्केटिङ एशोसियसनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको बताएका हुन् ।


'युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरू भन्दा फरक रुचाउँछन् । नेपालको एड्भान्टेज भनेको युनिकनेस हो,’ मन्त्री महतले भने, ‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता नेपालको विशिष्ट पहिचान हो ।’

मन्त्री महतले अगाडि भने, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ यसलाई मार्केटिङ भनिन्छ । उपभोक्ताको मनमा यो त मैले प्रयोग गर्नैपर्छ, उपयोग गर्नैपर्छ, खानैपर्छ, लाउनैपर्छ, जानैपर्छ, हेर्नैपर्छ र सुन्नैपर्छ, भन्ने छाप जसले छोड्न सक्छ, उसको बिक्छ । विज्ञापनले मात्र पुग्दैन, यसलाई दिगो बनाउनका लागि गुणहरू हुनैपर्छ । गुण भएन भने दिगो हुँदैन ।’

‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो,’ मन्त्री महतले भने, ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चहलपहल हुने बित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’


Author

थप समाचार
x