राजनीति

राजनीतिक दलका नेता-कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिन सक्ने प्रस्ताव खारेज हुनुपर्नेमा जोड

इकागज |
माघ १४, २०८० आइतबार १८:३९ बजे

काठमाडौँ- सांसदहरूले हिंसात्मक क्रियाकलापमा संलग्न भएका राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिन सक्ने प्रस्ताव खारेज हुनुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले राजनीतिलाई अनुशासित र मर्यादित बनाउनुपर्ने भन्दै राजनीतिको मूलधारमा ल्याउने नाममा मुद्दा फिर्ता लिन सक्ने प्रस्ताव खारेज गर्नुपर्नेमा जोड दिएका हुन् ।


हिंसात्मक क्रियाकलापको अपराधलाई राजनीतिक आवरणमा छुट दिन नहुने उनीहरूको भनाइ छ ।

बैठकमा समिति सदस्य रघुजी पन्तले राजनीतिक गतिविधिहरू शान्तिपूर्ण हुने कुरा संविधानमा रहेको भन्दै त्यसविपरीत कुनै कानुन ल्याउन नहुने बताए । हिंसात्मक क्रियाकलापमा लागेर पैसा कमाउने र त्यसपछि राजनीतिमा आउने बाटो दिन नहुने उनको भनाइ छ । उनले प्रस्तावित प्रावधान जस्ताको तस्तै पारित भए अपराधीहरूलाई राजनीतिक आवरणमा हत्या हिंसा मच्चाउने बाटो खुल्ला हुने उल्लेख गरे ।

त्यस्तै समिति सदस्य सुमना श्रेष्ठले राजनीतिक आवरणमा अपराधीहरूलाई प्रोत्साहन गर्ने प्रावधान हटाउनुपर्ने बताइन् । उनले उक्त प्रावधान राख्नुले नियतमा शंका गर्ने पर्याप्त आधारहरू देखिएको बताइन् ।

त्यस्तै समिति सदस्य ज्ञानेन्द्र शाहीले कुनै पनि दलले राजनीतिक आस्थाका आधारमा अपराध गरेपछि उन्मुक्ति दिँदा मुलुक अफगानिस्तान हुने खतरा रहेको बताए ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिलेको प्रस्ताव तत्कालीन अवस्थामा समस्या सम्बोधन गर्न ल्याइएको भन्दै अहिले सांसदहरूको सुझावहरूलाई स्वीकार गरेर अघि बढ्ने बताए । उनले उक्त प्रावधानकै आधारमा आफ्नो नियतमा प्रश्न नगर्न आग्रह गरे । उनले विधेयक समितिमा आए पनि त्यसलाई समृद्ध बनाएर पठाउन सक्ने जिकिर गरे ।

उनले समितिको निष्कर्षलाई सरकारले स्वीकार गर्न तयार रहेको बताए । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ६४ मा शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता सकिने प्रस्ताव गरिएको छ । 


Author

थप समाचार
x