प्रदेश-२ सरकारले संसद्मा प्रस्तुत गर्यो विनियोजन विधेयक
जनकपुरधाम : प्रदेश-२ सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा अर्थमन्त्री विजय यादवले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजन विधेयक प्रस्तुत गरेका हुन् ।
विनियोजन विद्येयक प्रस्तुत गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेट कोभिड-१९ लक्षित स्वास्थ्यमा केन्द्रित रहेको रहने बताए । मौलिक हकमा स्वास्थ्यसम्बन्धी हकको कार्यान्वय गर्न तथा कोभिड महामारीको दोस्रो लहरबाट उत्पन्न अवस्थाको नियन्त्रण, रोकथाम र उपचार तथा भविष्यमा आउन सक्ने समस्या र महामारीविरुद्ध लड्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट तयार गर्न लागिएको उनले बताए ।
मन्त्री यादवले विगतका वर्षहरूमा घोषणा गरिएका प्रादेशिक महत्वका योजना तथा कार्यक्रमहरूलाई कार्यान्वयनमा लैजानेतर्फ बजेट केन्द्रित रहने, नागरिकको जीवन रक्षा गर्न गुणस्तरीय एवं सहज स्वास्थ्य सेवा सुनिश्चितता, वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुँजी, सीप, ज्ञान र क्षमतालाई उपयोग गर्ने गरी प्रदेशमा रोजगारीको अवसर सिर्जना गर्न बजेट केन्द्रित हुने बताए ।
प्रदेशवासीहरको गुणस्तरीय शिक्षा प्राप्त गर्ने मौलिक हकको प्रत्याभुति गर्न सामुदायिक विद्यालयहरूको पूर्वाधार निर्माण, शैक्षिक सामग्रीको व्यवस्थापन तथा शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्न सार्वजनिक-नीति-साझेदारीको अवधारणामा जोड दिने उनको भनाइ थियो ।
मुलुकको पन्ध्रौ आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्यहरू, राज्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता र अठोट तथा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम, जनतासमक्ष गरिएका प्रतिबद्धतालाई पूरा गर्नेतर्फ बजेट लक्षित हुने विनियोजन विधेयकमा उल्लेख छ ।
विधेयकमा प्रदेशका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने, अग्रपंक्तिमा खटेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई प्रोत्साहनको व्यवस्थालगायत विषय उल्लेख गरिएको छ ।
विधेयक प्रस्तुत गर्ने प्रदेश सभा बैठकमा सरकारबाट बर्खास्त गरिएका जसपा ठाकुर समूहका प्रदेश सभा सदस्यले बहिष्कार गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया