कान्छाे ज्वाइँ र छाेरीसहित प्रधानमन्त्री प्रचण्ड उदयपुरमा, रौतामाई पालिका भवनकाे उद्घाटन
उदयपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गरेका छन् ।
उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उनले प्रशासकीय भवन समुद्घाटन गरेका हुन् । उक्त भवन सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो ।
सो अवसरमा प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताए । स्थानीय तहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नु पर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूत हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोडसमेत दिएका छन् । बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उनले बताए ।
शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमति मै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास अगाडि बढ्ने उल्लेख गरेका छन् ।
मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको स्पष्ट पारेका छन् ।
'अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिति तथा पर्यटकको आगमन वृद्धि भएको छ,' उनले भने, 'यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्दत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।'
प्रधानमन्त्री प्रचण्डले साे अवसरमा कान्छा ज्वाइँ जीवन आचार्य र छाेरी गंगा दाहाललाई पनि सँगै लगेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया