राजनीति

सरकारले अबदेखि बजेट बनाउने तरिका बदल्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज |
माघ २०, २०८० शनिबार १७:५९ बजे

उदयपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाल सरकारले अबदेखि बजेट बनाउने तरिका बदल्ने बताएका छन् ।

शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्‍घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेटको प्रभावकारी कार्यान्वयन गर्न अब सरकारले बजेट बनाउने तरिका बदल्ने बताएका हुन् । आगामी जेठमा आउने आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा ३ करोडभन्दा कम लागतका योजनाहरू संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भइसकेको उनले बताए ।


मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा  फर्किएको स्पष्ट पारे । त्यस्तै उनले शान्ति प्रक्रियाका केही कामहरू राजनैतिक दलहरूको सहमतिमा टुङ्ग्याइने बताए । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूत हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा क्षेत्रफलमा निर्माण गरिएको साढे दुई तले प्रशासनिक भवन ७ करोड ८७ लाख लागतमा निर्माण सम्पन्न भएको रौतामाई गाउँपालिकाले जनाएको छ । 


Author

थप समाचार
x