भूकम्प पुनःनिर्माणसम्बन्धी एकीकृत कार्यविधि बन्दै
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ । विसं २०७२ को भूकम्पपछि बनाइए पनि पछि नयाँ कार्यविधि नबनेकाले यसपटक एकीकृत कार्यविधि निर्माणमा प्राधिकरण जुटेको हो ।
तत्कालीन समयमा पुनःनिर्माण प्राधिकरणका धेरै जिम्मेवारी विपद् प्राधिकरणमा हस्तान्तरण गरिएको थियो । त्यसपछि भूकम्प पुनःनिर्माणको कार्यविधि नै नबनेकाले पहिलो पटक कार्यविधि निर्माण हुँदैछ । त्यसबेला संघमार्फत नै पुनःनिर्माणको काम अघि बढाइएको थियो ।
यसपटक स्थानीय तहलाई मुख्य जिम्मेवारी दिएर काम अघि बढाउने गरी कार्यविधि निर्माण भइरहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेले जानकारी दिए । “हामीले स्थानीय तहलाई बढी जिम्मेवार र भूमिका दिनेगरी पुनःनिर्माणका लागि एकीकृत कार्यविधि अन्तिम चरणमा पुर्याएका छौँ”, उनले भने, “पहिला बनेको कार्यविधिमा प्रदेश, स्थानीय सरकार खासै सहभागी थिएनन् । यसपाली स्थानीय सरकारमार्फत काम गर्नै गरी कार्यविधि अघि बढाएका छौँ ।”
यसपटक प्रवलीकरण, पुनःनिर्माण र पुनःस्थापनलाई छुट्टाछट्टै व्यवस्था गरिने जनाइएको छ । कस्तो अवस्थामा प्रवलीकरण हुने, कस्तो अवस्थामा पुनःनिर्माण र कस्तो अवस्थामा पुनःस्थापना गरिने भनेर छट्टै व्यवस्थासहितको एकीकृत कार्यविधि तयार पारिने प्राधिकरणले जनाएको छ ।
पुनःनिर्माणको कामसहितको कार्यविधि निर्माणका लागि प्राधिकरणको टोली केहीअघि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुगेर सुझाव संकलन गरी फर्किएको छ । स्थलगत अवलोकनपछि आएको सुझावलाई समावेश गरी कार्यविधि निर्माण हुने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।
कार्यविधि अन्तिम चरणमा रहेकाले चाँडै गृहमन्त्रालयमा पठाइने र मन्त्रालयको राय लिएर कार्यविधिलाई अन्तिम रुप दिने तयारीमा रहेको प्राधिकरणले जनाएको छ । कात्तिक १७ गते आएको जाजरकोट भूकम्पमा ८० हजार घर भत्किएका छन् । अहिले अस्थायी आवास निर्माणको काम जारी रहेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया