राजनीति

बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरूसँग अर्थमन्त्रीको आग्रह

इकागज |
माघ २२, २०८० सोमबार १६:५३ बजे

नुवाकोट - बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरुलाई मन्त्री डा. प्रकाशशरण महतले आग्रह गरे । नुवाकोट दुप्चेश्वर - २ गाउँखर्कस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भने, ‘सम्पत्ति त क्षति हुनसक्छ, तर पढेको कुरा कसैले खोस्न सक्दैन । सिप छ, पढाइ लेखाइ छ भने जहाँ गएर पनि आम्दानी गर्न सकिन्छ । रोजगारी प्राप्त गर्न सकिन्छ । त्यसकारण पढाइलाई प्राथमिकता राख्न म अभिभावकहरुसँग अनुरोध गर्छु ।’

बालबालिकालाई घरमा पनि पढ्ने वातावरण बनाइदिन मन्त्री महतले अभिभावकहरूसँग अनुरोध गरे । उनले स्कुलमा शिक्षक साथीहरूले मेहनत गरेर पढाइ दिन आग्रह गर्दै भने, ‘कम्प्युटर शिक्षा विद्यार्थीलाई सानैबाट दिनुपर्छ । इन्टरनेट र कम्प्युटर भयो भने विद्यार्थीले धेरै कुरा सिक्न सक्छन् । शिक्षक पनि कम्युटरबाट पढाउन दक्ष हुनुपर्छ ।’


‘शिक्षा भयो भने थोरै सम्पत्ति छ भने पनि डर हुँदैन । पढेको, सिप सिकेका मान्छे जहाँ पनि रोजगार हुन्छ । नयाँ पिँढीलाई शिक्षा अनिवार्य रुपमा दिनुपर्छ’ कार्यक्रममा मन्त्री महतले भने । 

‘त्रिशुलीबाट नुवाकोट जिल्लाको सदरमुकाम जोड्ने बाटो अपुरो नै थियो, समुन्द्रटारबाट अगाडि कच्ची बाटो भएको पक्की बनाउन प्रस्ताव गरेको छु । यो बाटो निर्माणका लागि एक अर्ब २० करोड रुपैयाँ विनियोजन भएको छ । त्यसको ठेक्का प्रकृया केही दिनमा सुरु हुन्छ’ मन्त्री महतले भने, ‘यो बाटो निर्माणपछि सदरमुकाम जान धेरै सहज हुनेछ । काठमाडौं जानका लागि सुन्दरीजल हुँदै गोल्फु भन्ज्याङ जोड्ने बाटो त्यत्तिकै महत्वपूर्ण छ ।’ 

‘केन्द्र र प्रदेश सरकारले सल्लाह गरेर पार्टी भन्ज्याङबाट गोल्फु भन्ज्याङ जोड्ने बाटोलाई राम्रो बनाउनका लागि बजेटसमेत राखेर पहल हुनेछ । यो सडक राम्रो भएपछि काठमाडौं आवतजावत सहज हुनेछ । पुलको पनि डिपिआर निर्माण हुँदैछ’ मन्त्री महतले भने । 

‘धेरै जग्गा जमिन नभएका यहाँ रोजगारीको सम्भावना न्यून छ । कृषिबाट बढी उत्पादन गर्नेतर्फ हाम्रो ध्यान जानेछ । सँगसँगै शिक्षा र स्वास्थ्यमा हामीले लगानी वृद्धि गर्नुपर्नेछ । जनताको आवश्यकता पूर्ति गर्नेतर्फ सरकारको ध्यान जानेछ’ मन्त्री महतले भने, ‘महिला सशक्तीकरण, आयआर्जन वृद्धि गर्ने, जेष्ठ नागरिकको सम्मान, आदिवासी जनजातिको जीवनस्तर उठाउने काममा सरकारको विशेष ध्यान जानेछ ।’


Author

थप समाचार
x