जनतालाई सन्तुष्ट पार्न नसकेका कारण व्यवस्थामाथि असन्तुष्टिः जितेन्द्र देव
फाइल तस्बिर
काठमाडौँ - राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले जनतालाई सन्तुष्ट पार्न नसकेका कारण व्यवस्थामाथि असन्तुष्टि पैदा सिर्जना भएको बताएका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै देवले व्यवस्था परिवर्तन भएपनि जनतालाई सन्तुष्टि दिन नसकेकाले व्यवस्थामाथि असन्तुष्टि पैदा सिर्जना भएको बताएका हुन् । अहिले मुलुकमा गम्भीर संकट आएको भन्दै नयाँ परिवर्तन ल्याउने राजनीतिक दलहरू गम्भीर हुनुपर्ने उनले बताए । उनले सुशासन कायम गर्न पूर्ण रुपमा भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, रोजगारीको सिर्जना गर्नुपर्ने र जनताको असन्तुष्टिलाई सम्बोधन गर्न सक्नुपर्ने धारणा राखे ।
भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्रीले देखाएको इच्छाशक्तिलाई पुरा गर्न राजनीतिक दलहरू गम्भीर हुनुपर्ने उनले बताए । उनले नेताहरूले भ्रष्ट कार्यकर्ताहरूलाई टिकट दिन र मन्त्री बनाउन नहुनेमा जोड दिए । त्यस्तै उनले मुलुकमा भ्रष्टाचारमा जति राजनीतिक नेताहरू जिम्मेवार छन् त्यति नै कर्मचारीतन्त्र पनि जिम्मेवार रहेको बताए । सांसद देवले अख्तियारको संरचनामा पुनर्विचार गर्नुपर्ने र राजनीतिक हस्तक्षेमुक्त बनाउनुपर्ने सुझाव दिए । उनले जनतालाई विश्वासमा लिएर देश बनाउने संकल्प गर्नुपर्ने धारणा राखे ।
त्यस्तै राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले सरकारी जग्गा कब्जा गर्नेलाई छाड्न आदेश दिएको भन्दै आपत्ति जनाए । अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीश मुगु सरुवा गरेको सुनिएको भन्दै न्याय परिषद्ले कारबाही गर्नुपर्ने उनले बताए ।
उनले अहिले केही भएन भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै राजनीतिक विश्लेषकको विश्लेषणले देशलाई निकास नदिने र आलोचना मात्रै गर्ने वातावरण सिर्जना गरेको आरोप लगाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया