उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत छ : मन्त्री यादव
फाइल तस्बिर
काठमाडौँ- खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत रहेको बताएका छन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी उपलब्ध गराउन विभिन्न स्थानीय तहमा रहेका पानीको स्रोत खोजीको प्रयास भइरहेको बताए ।
'काठमाडौँ उपत्यकामा दैनिक ५१ करोड लिटर पानीको माग छ । हाल १७ करोड लिटरमात्र उपलब्ध गराउन सकिरहेका छौँ,' मन्त्री यादवले भने । काठमाडौँवासीलाई स्वच्छ पानी उपलब्ध गराउनका लागि स्थानीय सरकारले स्थानीय स्तरमा पानीको स्रोत पहिचान तथा खोजी गरी संरक्षण गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
खानेपानीमन्त्री यादवले उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनः संरचना आवश्यक रहेको बताए । उनले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिबद्धता जनाएको २२ वर्ष बितिसक्दा पनि पर्याप्त पानी उपत्यकामा ल्याउन नसकिएको बताए ।
भौतिक संरचना, प्राविधिक जनशक्ति, आवश्यक उपकरणलगायत अभावका कारण मेलम्ची खानेपानी आयोजनाले निरन्तरता पाउन नसकेको मन्त्री यादवको भनाइ थियो । उनले जलवायु परिवर्तनको कारण मुलुकका हिमाल पग्लने, पानीका मुहान तथा खोला सुक्ने समस्या देखिएको बताए । जलवायु परिवर्तन र विभिन्न वातावरणीय प्रभावले खानेपानीको उपलब्धतामा चुनौती थपिँदै गएको उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया