राजनीति

संविधानले नागरिक र राजनीतिक अधिकारलाई सुनिश्चित गरेको छ : पूर्वराष्ट्रपति भण्डारी

इकागज |
फागुन ७, २०८० सोमबार २१:४० बजे

काठमाडौँ- पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको बताएकी छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक फागुन ७ गते विमोचन गर्दै पूर्व राष्ट्रपति भण्डारीले नेपालको वर्तमान संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयलाई पनि मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको बताएकी हुन् । राजनीतिक अस्थिरता, सुशासनको अभाव र दण्डहीनताले नागरिक अधिकार कार्यान्वयनमा चुनौती रहेको उनले बताइन् ।


सशस्त्र द्वन्द्वका पीडितले अहिले पनि न्याय नपाएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् । आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा नै ज्यान गुमाएका नन्दप्रसाद अधिकारकीको शवको अन्तिम संस्कारसमेत हुन नसक्नुले नेपालको मानव अधिकारको अवस्था स्पष्ट पार्ने उनले बताइन् । 

राष्ट्रिय सभा सदस्य एवं पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले मानव अधिकारको क्षेत्रमा अहिले धेरै चुनौती रहेको बताइन् । मानव अधिकारको क्षेत्रमा नेपालले धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।

संविधानमा रहेको मौलिक हक र नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता मिल्दाजुल्दा भएकोले मानव अधिकार कार्यान्वयनमा सहज हुने पौडेलले बताइन् । अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार नेपालले काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

नेपालले अन्तर्राष्ट्रिय स्तरमा भएका मानव अधिकार हननका विषयमा पनि कुरा उठाउनु पर्ने पौडेलको राय छ । अहिले नेपालले त्यो भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकार सेवक नभएर शासक भयो भने विद्रोह हुने बताए । जलवायु परिवर्तनका विषय पनि मानव अधिकारको विषय बन्नु पर्ने उनको भनाइ छ ।

 


Author

थप समाचार
x