राजनीति

कांग्रेस नेता खत्रीले दिए गोरखाका पाँच स्थानीय तहलाई ६ वटा एम्बुलेन्स

इकागज |
जेठ २६, २०७८ बुधबार १५:२८ बजे

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रेम खत्रीले गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् । खत्रीले आफ्नै संस्था संभव नेपाल नामक संस्थामार्फत जिल्लाका पाँच स्थानीय तहका लागि ६ वटा एम्बुलेन्स उपलब्ध गराएका हुन् । 

पर्यटन व्यवसायीसमेत रहेका खत्रीले उपलब्ध गराएको एम्बुलेन्ससहित स्वास्थ्य सामाग्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पाँच स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई हस्तान्तरण गरे । 


गोरखाको आरुघाट गाउँपालिका स्थायी घर भएका खत्रीले गोरखा नगरपालिकाको लागि २,  भीमसेन थापा गाउँपालिकाको लागि १, शहीद लखन गाउँपालिकाको लागि १, गण्डकी गाउँपालिकाको लागि १, धार्चे गाउँपालिकाको लागि १ एम्बुलेन्स र स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । 

गोरखा नगरपालिकामा भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा खत्रीले गोरखाका कोही पनि नागरिकले स्वास्थ्य संस्था जान नसकेकै कारण ज्यान गुमाउन नपरोस् भनेर आफूले एम्बुलेन्स हस्तान्तरण गरेको बताए । 

‘कोरोना संक्रमणका बेला दुर्गम गाउँका जनताले सहजै उपचार सेवा पाउन् भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेका हौँ’ संभव नेपालका अध्यक्षसमेत रहेका खत्रीले भने । कच्ची सडकमा सहजै आउजाउ गर्न सक्ने, अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य साममग्री एम्बुलेन्समा रहेको उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्य पाण्डेले एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था पुग्न नसकेका बिरामीको लागि आज हस्तान्रण एम्बुलेन्सको उपयोग हुनेमा आफू विश्वस्त रहेको बताए । 

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नगरपालिकालाई उपलब्ध भएको एम्बुलेन्सले ६५ वर्ष माथिको जेष्ठ नागरिक, अपाङ्गता भएका र सुत्केरीलाई निशुल्क सेवा दिने बताए ।

 


Author

थप समाचार
x