मन्त्री महतको दाबी : म अर्थमन्त्री भएपछि अर्थतन्त्रमा सुधार आयो
काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषयहरू कार्यान्वयनका क्रममा रहेको बताएका छन् ।
कांग्रेस महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशाका बारेमा प्रतिवेदन पेस गर्दै महतले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दा आर्थिक अवस्था समस्या रहे पनि अहिले क्रमश: सुधार हुँदै गएको दाबी गरे । उनले पुँजीगत खर्चलाई व्यवस्थित गर्न स्रोतको उपलब्धताका आधारमा महत्वपूर्ण आयोजनाहरूमा बहुवर्षीय ठेक्काको सहमति दिने गरी नयाँ मापदण्ड जारी गरिएको जानकारी दिए ।
आवश्यकता र अपेक्षाअनुरूप राजस्व संकलन हुन नसकेको भएता पनि राजस्व परिचालनमा क्रमशः सुधार भएको उनले बताए ।
नेपाल राष्ट्र बैङ्कसँग निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगिएको र मौद्रिक नीतिको हालैको समीक्षामार्फत यसलाई थप लचिलो बनाइएको उनको प्रतिवेदनमा उल्लेख छ । उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत रहेको जानकारी दिए ।
त्यस्तै सरकारले सुरु गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई थप विस्तार गरिने उनले बताए । आगामी वैशाख १६ र १७ गते सरकारले लगानी सम्मेलनको घोषणा गरी त्यसको तयारी सुरु गरेको, लगानी सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार गर्ने कार्य अगाडि बढाइएको अर्थमन्त्री महतको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वृद्धिमा निजी क्षेत्रले नेतृत्व लिने र सरकार नियमन, वितरण र पूर्वाधार विकासमा केन्द्रित हुने समेत प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वृद्धिसंगै यसबाट प्राप्त प्रतिफललाई आम नागरिक विशेष गरी पछाडि परेका क्षेत्र, वर्ग र समुदायमा पुर्याउनु नेपाली कांग्रेसको लक्ष्य रहेको उनले उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया