राजनीति

पूर्वराष्ट्रपति यादव र पूर्वमन्त्री उपाध्याय महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित

इकागज |
फागुन १३, २०८० आइतबार २१:५५ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान-२०८०’ पूर्वराष्ट्रपति डा रामवरण यादवलाई प्रदान गरेका छन् । 

वर्तमान संविधान निर्माण क्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्न महत्वपूर्ण योगदान पुर्याएबापत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गरिएको हो । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवनमा आयोजित १०३औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गरे । 


राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९ सङ्गीत साधक सरिता मिश्रलाई प्रदान गरे । 

त्यस अवसरमा राष्ट्रपति पौडेलले देश, जनता र समाजलाई केन्द्रमा राखेर राजनीति गरेका नेता निधिले गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको उत्थानमा ध्यान दिएको स्मरण गरे । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका कामप्रति हाम्रो ध्यान अझै जान नसक्दा कतै जनतामा निराशा छाएको हो कि भनेर चिन्ता प्रकट भइरहेको राष्ट्रपतिले उल्लेख गरे । 

राष्ट्रपति पौडेलले कतिपय सन्दर्भमा हाम्रा आफ्नै राजनीतिक र शासकीय कमजोरीले यस्तो अवस्था उत्पन्न भएको होइन भन्दै कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन भन्ने प्रश्न गरे । 'मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ,' उनले भने । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा परेका यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपालको निर्माण गर्न निधिजस्ता अग्रज नेताहरूको अटल विश्वास रहेको कल्याणकारी राज्य प्रणालीको अवधारणा, सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको राष्ट्रपतिले बताए । 

'२००७ सालको क्रान्तिदेखि नै लोकतन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनहरूमा अग्रपङ्क्तिमा रहेर सक्रिय रहनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष तथा गान्धीवादी नेता हुनुन्थ्यो, निधिजीको स्मृति दिवसमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछु,' राष्ट्रपति पौडेलले भने । उनले करिब पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबीच सद्भावका पक्षमा, सामाजिक न्यायका पक्षमा निधिले गरेको काम हामी सबैका लागि सधैं प्रेरणाको स्रोत भएको बताए ।

सम्मानित प्रथम राष्ट्रपति यादवले महेन्द्रनारायण निधिको राजनीतिक योगदानको स्मरण गरे ।


Author

थप समाचार
x