राजनीति

कनकमणिलाई बाबुरामको प्रश्‍न : भारतलाई दुई खम्बे नीति छोड्न बाध्य पार्ने माओवादी क्रान्तिप्रति किन यत्रो रिस ?

इकागज |
जेठ २७, २०७८ बिहीबार ९:५५ बजे

काठमाडौँ : जेठ २० गते कान्तिपुर दैनिकमा हरि रोकाले 'राजनीतिक प्रणालीमाथि दक्षिणपन्थी घात' शीर्षकमा लेख लेखे । उक्‍त लेखमा लेखक रोकाले नेपाली राजनीतिमाथि दक्षिणले कसरी घात गरेका छन् भन्‍ने विषयको उठान गरेका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसम्‍म र पत्रकार कनकमणि दीक्षितसम्‍मलाई लेखमा समेटेका छन् । रोकालाई दिक्षितले आरोपबारे पुष्टि गर्न चुनौती गरेका छन् । लेखमा दिक्षितबारे रोकाले लेखेका छन् 'नोभेम्बर २०१९ मा भारतले नयाँ नक्सा जारी गर्‍यो र लिपुलेक-लिम्पियाधुरा–कालापानी क्षेत्रमाथि दाबी गर्‍यो । नेपालको अभिन्न अंग रहेको यो क्षेत्र सन् १९६२ पछि भारतले मिचेको थियो र सत्तास्वार्थका लागि राजा महेन्द्रले आँखा चिम्लिएका थिए । उक्त दाबीपछि ओलीले यसलाई आफ्नो स्थायी रणनीतिसँग गाँस्न खोजे । त्यसका लागि उनलाई एउटा यस्तो उपयुक्त व्यक्ति चाहिन्थ्यो, जोसँग भाषा होस्, सम्बन्ध राख्न सिपालु होस् र उनको सर्वसत्तावादी आकांक्षालाई सहयोग गर्न हरतरहले तयार होस् । त्यो चरित्र उनले कनकमणि दीक्षितमा देखे, जो दशकौंदेखि माओवादीविरोधी थिए, माओवादीले मानवअधिकार थिचोमिचो गरेकामा उनी नाखुस थिए र ‘एलिट’ हरूको अधिकार कटौती गरेर सर्वसाधारणलाई राजनीतिमा समावेश गराइएकामा आक्रोशित थिए । नेकपा बनेको त उनलाई फिटिक्कै मन परेको थिएन । ‘होमवर्क’ सुरु भयो । प्रधानमन्त्रीबाटै रणनीतिक प्रस्तावको योजना सुन्नासाथ उनी काममा जुटिहाले । बीस पेजको रणनीतिक दस्तावेज तयार भएपछि आपसी विमर्शपश्चात् उनी फेब्रुअरी २०२० मा दिल्ली रवाना भए । मोदीसँग नजिकको सम्बन्ध भएका र भारतीय क्याबिनेट मन्त्रीको हैसियतमा रहेका नीति आयोगका उपाध्यक्ष राजीव कुमारमार्फत दस्तावेज हस्तान्तरण सहज भयो । मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई त्यो ‘परखने’ कार्यभार सुम्पिए । यससम्बन्धी थप विवरण आवश्यक परेका खण्डमा जानकारहरूबाट सार्वजनिक हुने नै छ ।'


रोकाले आफ्‍नो लेखमा यस्तो लेखेपछि जेठ २६ गतेको कान्तिपुर दैनिकमा दिक्षितले त्यसलाई खण्‍डन गर्दै 'हरि रोकाको आक्षेपप्रति मेरो प्रतिवाद' शीर्षकमा लेख लेखे । रोकाको आरोपको खण्डन र प्रतिवाद त म गर्छु नै, त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, तथ्यहीन, भ्रमात्मक र मानमर्दन भयो भन्‍दै दिक्षितले लेखमा उल्‍लेख गरेका छन् ।

दिक्षितले लेखमै माओवादीविरुद्ध आफू लागेको स्वीकारेका छन् । दीक्षित खरो माओवादी आलोचकका रुपमा चिनिन्छन् । दिक्षितले लेखेका छन् 'रोकाको लेखमा थप दुई कुरा बिलकुल सही छन् । पहिलो, म कारणवश माओवादी नेतृत्वको विरोध गर्छु नै । मुलुकलाई १० वर्षको द्वन्द्व र बाँकी १० वर्ष संक्रमणमा धकेलेर लोकतन्त्रलाई जरा गाड्न नदिएको, अर्थतन्त्रलाई दुई दशक पछाडि पारेकोलगायत धेरै कुराको मूल दोषी म माओवादी नेतृत्वलाई नै ठान्छु । यस्तै, खुला राजनीतिमा आएपछि भ्रष्टाचार मौलाउन सघाएको, राजकाजलाई सक्दो बिथोलेर अस्थिरता निम्त्याउने काममा पनि माओवादी शीर्षस्थको मुख्य हात रहेको देख्छु ।'

दिक्षितले थप लेखेका छन् 'देश, काल, परिस्थिति अमिल्दो माओवाद नेपालमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईले भित्र्याए, यो उनीहरूको ‘अपराधवाद’ को उपज हो । तर, कैयौं कार्यकर्ता र लडाकु भने सच्चा दिल लिएर देखाइएको बाटोमा होमिएका हुन् भन्ने मेरो बुझाइ रह्यो । शान्ति प्रक्रियापछि आमजनताजस्तै म स्वयंले पनि दाहाल र भट्टराईलाई प्रधानमन्त्री स्विकारेकै हो । तर, संविधान लेखनपश्चात् नेपाल नयाँ लोकतान्त्रिक युगमा प्रवेश गर्दा दाहाल, भट्टराई दुवै प्रधानमन्त्री हुनु हुँदैन, जबसम्म द्वन्द्वपीडितको बुझाइअनुसार संक्रमणकालीन न्यायको प्रक्रिया पूरा हुँदैन भन्ने मेरो भनाइ आजपर्यन्त कायम छ ।'

दिक्षितले रोकालाई पुष्टि गर्न चुनौती दिइँरहँदा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‌ अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि दिक्षितलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् । दिक्षितले हावा कुरा लेखेको भट्टराईले कुनै काल्पनिक पत्र भए मदन पुस्तकालयमा राख्‍न सुझाव दिएका छन् ।

'हरि रोकाले पोल खोलेपछि आगोभएका कनकले प्रचण्ड र बाबुराममाथि बिष ओकल्दै’भारतीय गुप्तचर प्रमुखलाई लेखेको पत्र’को हावा कुरा गरेछन् ! त्यस्तो कुनै काल्पनिक पत्र भए मदन पुस्तकालयमा राखे भैहाल्यो' भट्टराईले प्रश्‍न गरेका छन् 'भारतीय सत्तापक्षलाई उसको ’दुई खम्बे नीति’छोड्न बाध्य पार्ने माओवादी क्रान्तिप्रति किन यत्रो रिस ?'


Author

थप समाचार
x