राजनीति

समयसापेक्ष संविधान संशोधन जरुरी : पूर्वराष्ट्रपति यादव

इकागज |
फागुन १९, २०८० शनिबार २१:४४ बजे

मोरङ- पूर्वराष्ट्रपति डा रामवरण यादवले वर्तमान नेपालको संविधान समयसापेक्ष संशोधन हुनुपर्नेमा जोड दिएका छन् । 

सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा सुशील कोइराला फाउण्डेशनको आयोजनामा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयनका चुनौती र आजको राजनीति’ विचारगोष्ठी कार्यक्रममा उनले वर्तमान संविधान जारी गर्न स्व कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे ।


'वर्तमान संविधान जारी हुनुमा निष्ठावान र इमान्दार राजनीतिज्ञ तत्कालीन प्रधानमन्त्री कोइरालाको भूमिका महत्तवपूर्ण छ । उहाँ अनुशासित एवं तपस्वी नेता हुनुहुन्थ्यो,' पूर्वराष्ट्रपति यादवले भने । 

त्यस अवसरमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्ने भन्दै त्यसको जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको धारणा राखे । उनले तत्कालीन समयमा धेरैले वर्तमान संविधान जारी गर्नबाट रोक्ने प्रयास गरेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सफल नेतृत्वकै कारण संविधान जारी भएको बताए । 

पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो सङ्घर्ष र सफल नेतृत्वका कारण संविधानमा बहुलवाद, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिकालगायतका विषय समावेश गर्न सफल भएको स्मरण गरे । उनले संविधानमार्फत व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकाले समयसापेक्ष संविधान संशोधन जरुरी रहेको बताए । 

संविधानसभा सदस्य एवं पूर्वमन्त्री रोमी गौचनले संविधान सम्झौताको दस्तावेज भएकाले समयअनुसार संशोधन गर्दै सबैका लागि स्वीकार्य बनाउनुपर्नेमा जोड दिए । उनले स्व कोइराला एक इमान्दार नेता थिए भन्दै वर्तमान संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गरे । 

राजनीतिक विश्लेषक प्रा कृष्ण हाछेथुले स्व कोइराला दूरदर्शी नेता भएकाले संविधान जारी हुनसकेको बताए । उनले संविधानलाई गतिशील बनाउन समयसापेक्ष संशोधन पनि जरुरी भएको उल्लेख गरे ।

फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले स्व कोइराला लोकतन्त्रको लडाइँमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै दलका नेताहरूलाई एक ठाउँमा ल्याई संविधान जारी गर्न सफल भएको चर्चा गरे ।


Author

थप समाचार
x