राजनीति

स्पञ्ज आइरन र विलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाको अवलोकन हुने

इकागज |
फागुन २०, २०८० आइतबार १५:८ बजे

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्पञ्ज आइरन र विलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाहरूको अवलोकन गर्ने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा थप अध्ययन गर्न र उद्योगहरूको अवलोकन गर्न उपसमिति बनाउने निर्णय गरेको हो । फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीचको भन्सारमा व्यवसायीहरूको निरन्तर गुनासो आउने गरेको भन्दै उपसमिति बनाएर अवलोकन गर्ने निर्णय गरिएको सभापति अब्दुल खानले जानकारी दिए ।


बैठकले स्पञ्ज आइरन र विलेट्स प्रयोग गरेर उत्पादन हुने फलामे छडको गुणस्तर निरन्तर रूपमा कायम गर्न गुणस्तर तथा नापतौल विभागलाई निर्देशन दिने निर्णय गरिएको उनले बताए । त्यस्तै बैठकले स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिले यसअघि दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा अर्थ मन्त्रालयसँग जानकारी लिने निर्णय भएको उनले जानकारी दिए ।

बैठकमा फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्स प्रयोग गर्ने कारखानाका प्रतिनिधहरूसँग छलफल भएको थियो । उनीहरूले अहिले ९७ प्रतिशत फलामे छड उत्पादन गर्ने कारखानाहरूले स्पञ्ज आइरन र विलेट्स प्रयोग गर्ने भएकाले यसमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका थिए । 


Author

थप समाचार
x