राजनीति

रातो पासपोर्ट दुरूपयोग मुद्दाका आरोपी राना ओली सरकारका मन्त्री !

नवराज पनेरु |
जेठ २७, २०७८ बिहीबार १६:२६ बजे

धनगढी: वन मन्त्रालयले निरन्तर आरोप-अभियोग लागेको व्यक्तिको नेतृत्वबाट गुज्रिनु परेको छ । यसअघि 'काठको कारोबारी' प्रेमबहादुर आले वनमन्त्री बनेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आलेलाई बर्खास्त गरेको एक हप्तामै अर्का विवादित पूर्वसांसदलाई वन मन्त्रालयको चाबी सुम्पेका छन् ।

कैलाली-५ बाट नेकपा एमालेको तर्फबाट विघटित प्रतिनिधिसभामा निर्वाचित भएका नारदमुनी राना वन तथा वातावरणमन्त्री बनेका छन् । राना रातो पासपोर्ट दुरूपयोग मुद्दाका अभियुक्त हुन् । २०६४ को संविधानसभा सदस्य रहेका बेला लिइएको रातो पासपोर्ट दुरूपयोग प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रानासहित गायत्री साह, वीपी यादव र शिवपुजन राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 


०६८ असारमा पक्राउ परेपछि एमालेले तत्कालीन सभासद् रानालाई पार्टीले सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको थियो । एमाले अनुशासन आयोगले सभासद् रानालाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन पार्टी सम्बन्धिन निकायहरूलाई निर्देशन पनि दिएको थियो । कूटनीतिक राहदानी दुरूपयोग आरोप लागेका रानाले विशेष अदालतबाट भने सफाइ पाएका थिए ।  

२०७२ साउन २६ गते विशेष अदालतले रानालाई सफाइ दिएपछि ०७२ चैतमा असन्तुष्ट हुँदै उक्त फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन दिएको थियो । रानाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । तत्कालीन संविधान सभाका सदस्यको हैसियतमा प्राप्त भएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरी मानव तस्करी गरेको मुद्दा सर्वोच्चमा पेसी चढ्ने र मुद्दाका विवरण मगाउने आदेश हुँदै आएको छ ।

उनको रातो पासपोर्टमा फोटो परिवर्तन गरी म्याग्दीका निर्मल बाँनिया अस्ट्रेलिया उडेको आरोप छ । उनीविरुद्ध राहदानी ऐनअुनसार सरकारी वकिलले मुद्दा दायर गरेको थियो भने आयोगले पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा सरकारवादी हुन्छ । 

तर विषेशबाट सफाइ पाएपछि प्रतिनिधिसभाको निर्वाचन लडेको बताउँदै आएका रानाले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्‍नी आरजु राणा देउवालाई पराजित गरेका थिए ।

वाम गठबन्धनकातर्फबाट उम्मेदवार भएका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन् । कैलाली क्षेत्र नं ५ मा ६१ हजार मत खसेको थियो । रानाले वि.स. २०४५ सालमा तत्कालीन अखिल छैठौंबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । 

त्यसपछि वि.स. २०४८ सालदेखि एमाले निकट विद्यार्थी संगठन हुँदै टोल कमिटी, नगर कमिटी, जिल्ला कमिटी, केन्द्रीय कमिटीमा पुगे । हाल उनी नेकपा एमालेका केन्‍द्रीय सदस्य छन् ।


Author

थप समाचार
x