राजनीति

माधव पक्षका १७ प्रदेश सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

इकागज |
जेठ २७, २०७८ बिहीबार १६:१९ बजे

धनगढी : नेकपा एमालेमा माधव पक्षका १७ प्रदेश सांसदलाई ओली पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश अध्यक्ष कर्ण थापा र प्रदेश सचिव राजेन्द्र रावलले माधव पक्षका सासंदलाई स्पष्टीकरण सोधेका हुन् । 

प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले पार्टीको निर्देशनविपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने माधव पक्षका १७ सासंदलाई २४ घण्टे स्पष्टीकरण सोधेको जानकारी दिए । केन्द्रको निर्देशनअनुसार एमाले संसदीय दलका नेतासहित १७ जनालाई स्पष्टीकरण सोधिएको उनले बताए । 


‘१० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको थियो,’ उनले भने, ‘त्यसपछि प्रदेश कमिटीले पटकपटक सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । मुख्यमन्त्रीको विपक्षमा भोट हाल्न पनि निर्देशनात्म पत्र दिएका थियौँ । तर त्यस्को पनि उल्लघन गरेपछि स्पष्टीकरण सोधिएको हो ।’ 

रावलले चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी १७ जनालाई नै निष्काशन गरिने बताए । स्पष्टीकरण सोधिएका १७ सासंदमध्ये सात जना वर्तमान सरकारमा मन्त्री नै छन् । 

यसअघि माधव पक्षको बहुतम रहेको संसदीय दलले मुख्यमन्त्री भट्टको विरुद्धमा मत दिने ओली पक्षका सात जना सासंदलाई स्पष्टीकरण सोधेको थियो । ओली पक्षका सासंदले जवाफ दिदै संसदीय दलको विधानको वैधानिकतामाथि प्रश्न उठाएका थिए । 

‘सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भइनसकेको अवस्थामा सो विधानले कानूनी मान्यता र पूर्णता नै पाइनसकेको अवस्थामा सो अपूर्ण विधानका आधारमा सोधिएको स्पष्टीकरणको कुनै औचित्य छैन,’ जवाफ पेश गर्दै ओली पक्षका प्रदेशसभा सदस्यहरुले भनेका छन् । 

१० जेठमा एमाले स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयलाई टेक्दै ओली पक्षको प्रदेश कमिटीले सरकारबाट फिर्ता हुन एमाले मन्त्रीहरुलाई निर्देशन दिएको थियो । तर १२ जेठमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गर्दै मन्त्रिमण्डल विस्तार गरेको थियो । 

त्यसपछि मुख्यमन्त्रीले विश्वासको मतका लागि पत्र दर्ता गरेपछि प्रदेश कमिटीले विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो । तर एमाले संसदीय दलले पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।


Author

थप समाचार
x