राजनीति

'माया मारेको मान्छे'लाई गृह मन्त्रालय

इकागज |
जेठ २७, २०७८ बिहीबार १७:२४ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषद्‌मा खगराज अधिकारी गृहमन्त्री भएका छन् । गृहमन्त्री पदमा धेरै आकांक्षी हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले उनलाई नै विश्वास गरेका छन् । यसअर्थमा ओली वृत्तमा अधिकारीले विश्वास जितेका छन् । कास्की जिल्लास्थित पोखरा महानगरपालिका-३१ बेगनास स्थायी ठेगाना भएका उनी २०१८ चैत १३ गते जन्मिएका थिए ।

अधिकारीको 'माया मारेको मान्छे' नामको (आत्मकथा) कृतिसमेत प्रकाशित भइसकेको छ । विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका अधिकारी संसदीय राजनीतिमा अनुभवी सांसदका रूपमा चिनिन्छन् । उनले तत्कालीन एमालेको अनुशासन कमिटी तथा सल्लाहकार परिषद्मा बसेर काम गरिसकेका छन् । सूर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेख्य भूमिका खेलेको भन्दै उनले ब्लुम्बर्ग अवार्ड पनि प्राप्त गरेका छन् । संसद्‍मा खरो टिप्पणी गर्ने विधायकको परिचय उनले बनाएका छन् ।


०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कास्की-१बाट विजयी भएका अधिकारीले स्‍नातकाेत्तरसम्मको अध्ययन गरेका छन् । ०२९ सालदेखि अनेरास्ववियु कार्यकर्ता भएर राजनीतिक यात्रा प्रारम्भ गरेका उनले ०३२ सालबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे ।

०४६ देखि ०५२ सम्म नेकपा (माले) को सचिव बनेका उनी नेकपा (एमाले) को अञ्चल सचिव र ०६५ देखि अञ्चल इञ्चार्ज एमालेको अनुशासन कमिटीको केन्द्रीय सदस्य तथा केन्द्रीय सल्लाहकार परिषदको उपाध्यक्षसम्मको पदमा रहे । ०७५ जेठपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य र गण्डकी प्रदेशको सहइञ्चार्जसमेत रहे अधिकारी ।

गृहमन्त्री अधिकारीको संसदीय यात्रा ०५१ को मध्यावधि निर्वाचनबाट सुरु भयो र ०५६ मा कास्कीबाट प्रतिनिधित्व गर्दै उनी प्रतिनिधि सभामा आए । ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कास्की-१ बाट निर्वाचित भएका उनी शिक्षा तथा स्वास्थ्य समिति सदस्यका रुपमा काम गरे । अधिकारीले पार्टी एकीकरणअघि तत्कालीन एमालेको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए । ('हाम्रा माननीय' पुस्तकको सहयोगमा)


Author

थप समाचार
x