राजनीति

विपक्षीले सबै प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने

इकागज |
जेठ २७, २०७८ बिहीबार २०:३४ बजे

काठमाडौँ : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनले सबै प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने भएको छ ।
 
गठबन्धनको कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार साँझ बसेको बैठकले केन्द्रमा बनेको गठबन्धन अनुरुप सबै प्रदेश गठबन्धन बनाएर सरकार निर्माण गर्ने पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

‘सबै प्रदेश जहाँ जहाँ हाम्रो गठबन्धनको सरकार बनेको छ, भइहाल्यो । नबनेका प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने सहमति आजको बैठकमा भएको छ,’ माओवादी प्रवक्ता श्रेष्ठले इकागजसँग भने । 


अहिले विपक्षी गठबन्धनको प्रदेश-२, कर्णाली र सुदूरपश्चिममा सरकार छ । प्रदेश-१ र बागमतीमा एमालेको एकल बहुमतको सरकार छ । गण्डकी र लुम्बिनीमा पनि कसरी गठबन्धन सरकार बनाउन सकिन्छ भनेर पहल गर्ने श्रेष्ठले बताए ।  

बैठडकमा अहिलेको केन्द्रको परिस्थितिबारे समीक्षा भएको उनले बताए । ‘संघमा मुलुकको समग्र राजनीतिबारे समीक्षा गरेर संविधान, लोकतन्त्र र विदेशी हस्तक्षेपको विरुद्धमा भएका षडयन्त्रहरूलाई चिर्दै एकताबद्ध रूपमा अगाडि बढ्ने प्रक्रियामा हामी गइरहेका छौं । यसलाई अझ मजबुझ बनाउने भन्‍ने भएको छ,’ श्रेष्ठले भने । 

गठबन्धनले सर्वोच्च अदालतले संविधानलाई सही ट्रयाकमा लगाउने दिशातिर नै फैसला गर्ने आशा गरेको श्रेष्ठले बताए । संविधानलाई सही ट्रयाकमा ल्याउने निर्णय गर्न कोभिड-१९ बीचमा पनि जनतालाई जाग्रित बनाउन के गर्न सकिन्छ, त्यो बारेमा सल्लाह पनि सल्लाह भइरहेको उनले बताए । 
 


Author

थप समाचार
x