राजनीति

पालिकाहरू ६-६ महिना प्रक्रियामै अल्झिनाले नतिजा निकाल्न सकिएन : मन्त्री गिरी

इकागज |
फागुन २९, २०८० मंगलबार २१:८ बजे

काठमाडौँ- कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पालिकाहरू सुरुको ६ महिनामा प्रक्रियामा अल्झिन पुग्नाले लक्ष्य अनुरुपको नतिजा निकाल्न नसकिरहेको अवस्थामा रहेको बताएका छन् ।

जिल्ला समन्वय समिति पर्वतको अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार बोल्दै उनले यस्तो बताएका हुन् । उनले यसमा सुधार गरेर सम्पूर्ण प्रक्रियाहरूलाई आर्थिक वर्षको सुरुको तीन महिनामा नै सकेर सोको कार्यान्वयनमा जानुपर्ने धारणा राखे ।


'हामी अहिले अर्धवार्षिक समीक्षाको बैठकमा छौं । हाम्रो समस्या के छ भने सुरुको ६ महिना प्रक्रियामै अल्झने, पुँजीगत खर्च अत्यन्त न्यून हुने, र प्रक्रियामै हाम्रो समय गुज्रिने । विगतदेखिको अभ्यास यही हो । जब  आर्थिक वर्ष सकिन थाल्छ त्यसपछि हामी हतारहतारमा बजेट सक्नुपर्ने अवस्थालाई हेर्दै काम गर्ने गरेका छौं,' उनले भने ।

यसले कामहरू गुणस्तरीय हुन नसकेको मन्त्री गिरीको भनाइ छ ।

'हाम्रो यस्तो विगतको अभ्यासहरूले गर्दाखेरी काममा गुणस्तरीयता कायम गर्न नसकिएको अवस्था छ । हाम्रा कामहरू गुणस्तरको नभएका गुनासाहरू व्याप्त छन्,' उनले भने, 'यसतर्फ हामीले योपटक सोच्नुपर्छ र समयमा नै हाम्रा क्वाटर्ली फ्लानहरू बनाउनुपर्छ । पहिलो क्वार्टरमा हामीले सम्झौता गर्नेदेखि प्रक्रियागत कुराहरू सक्ने । भनेको मतलब साउन, भदौ कार्तिकसम्ममा सबै काम सक्ने ।'

उनले त्यसपछि मंसिरको १ गतेबाट गेयर बदलेर काम गर्न पालिका प्रमुखमा उपस्थित जनप्रतिनिधि तथा विभिन्न कार्यालय प्रमुखहरूलाई आग्रह गरे । यस किसिमले काम गरेमा लक्ष्य प्राप्त गर्न सक्ने भनाइ राख्दै उनले विगतमा उपलब्धिहरू लक्ष्य अनुसार हासिल गर्न नसकेको स्मरण गराए ।

यसैगरी भौतिक विकासले मात्र समाज र जनताको भलो नगर्ने भएकाले मानवीय विकासलाई पनि उत्तिकै ध्यान दिनुपर्ने भनाइ उनले सो क्रममा राखे ।

'म जनप्रतिनिधि साथीहरूले के अनुरोध गर्न चाहन्छु भने अलिकति विकासका कामहरूलाई मात्र सबैथोक मान्ने प्रवृतिबाट पर गएर मानवीय विकास विभिन्न आयामहरूलाई, पक्षहरूलाई, रोजगारी, स्वरोजगारी श्रृजना गर्ने पक्षहरूलाई सामाजिक सुरक्षाका अनेक पक्षहरूलाई सँगसँगै लिएर जानुपर्छ,' उनले भने ।

उनले विकासको सूचाकंहरू बनाएर अगाडि बढ्नुपर्ने र आफ्नो कामको लागि आफैँसँग प्रतिष्पर्धा गर्नुपर्ने सुझाव दिए ।

'म पर्वत जिल्लाका सात वटै पालिकाहरूलाई फेरि पनि आग्रह गर्छु तपाईंहरू निर्वाचित हुँदै गर्दाका मानव विकास सूचकांकहरू तयार पार्नुस् अन्य विकासका सूचकांकहरू तयार पार्नुस् सँगै बसेर र पाँच वर्षपछि समीक्षा गर्दाखेरी कसको स्तर के छ ? आफैँमा पनि प्रतिष्पर्धा गर्न आवश्यक देख्छु । एउटा पालिकाका राम्रा अभ्यासहरू अर्को पालिकाले पनि अभ्यास गर्ने,' उनले भने 'सिक्ने सिकाउने यो प्रक्रियाबाट हामीहरू नजाने हो भने हामी वास्तवमा जनताका अपेक्षा अनुरुपको विकासहरू हामीले दिनसक्दैनौं । म हामर् सातवटा पालिकामा मात्र सीमित हुने हैन । गण्डकी प्रदेशका विभिन्न पालिका जो रोलमोडलका रुपमा काम गर्दै छन् । साँच्चै त्यस्ता पालिकाका अध्यक्षहरूसँग बसेर सेयरिङ पनि गर्ने ।'

यस्तै काममा श्रृजनशिल हुनुपर्ने उनको ठहर छ । यसले लक्ष्य प्राप्तिको अवस्था तयार पार्ने बताए ।

त्यसैगरी विभिन्न कार्यालयका प्रमुखहरूलाई सम्बोधन गर्दै उनले जनतामा चरम निराशा रहेको र यसलाई एक सिक्काका दुई पाटा जस्ता राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले एक भएर आशामा बदल्नुपर्ने धारणा राखे । उनका अनुसार यसो भएमा विकासको लक्ष्यप्राप्ति कठिन हुनेछैन । उनले सबैलाई आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरे ।    

'कार्यालयहरूको हकमा भन्नुपर्दा सुशासन र पारदर्शिता, जवाफदेहितालाई अत्यन्तै गम्भीरताका साथ आत्मसाथ गर्नुस् । जनतामा  निराशा व्याप्त छ, निराशा चुलिएको छ । कार्यालयहरूले आफ्नो क्षमता प्रदर्शन गरेर सबै हिसाबले अब्बल हुन जरुरत छ,' उनले भने । सोक्रममा कर्मचारीको प्रदर्शनले नै उनीहरू मूल्यांकन हुने उनको भनाइ थियो ।

'जति  तपाईंहरूले उपलब्धिहरू हासिल गर्नुहुन्छ, गर्नुभएको हुन्छ तपाईंहरूको योग्यता त्यति नै हो । ९० % उपलब्धि तपाईंहरूले हासिल गर्नुभयो तपाईंले ९० % कै योग्यता हासिल गर्नुभयो । होइन  तपाईंले ४०,५०, ६० प्रतिशतको रेसियोमा बस्नुभएको छ भने तपाईंको आफ्नो योग्यताको मापन पनि त्यसैले गरेको ठान्नुपर्छ । त्योबलामा आफू त्यो कार्यालयको नेतृत्व गर्न सक्षम रहेछु कि रहेन छु स्वमूल्यांकन गर्नुपर्ने स्थिति पनि रहन्छ,' उनले विभिन्न सरकारी कार्यालयका प्रमुखहरूलाई भने ।

उनले पर्वत जिल्लाको विकास र सम्बृद्धिमा संघीय सरकारका मन्त्रीका हिसाबले गर्नुपर्ने सबै पहल गर्ने वचनसमेत सो मन्तव्य दिए ।


Author

थप समाचार
x