राजनीति

समावेशी सशक्तिकरणको जग निर्माणमा इतिहासले प्रधानमन्त्री प्रचण्डलाई सम्झिनेछ : वाग्ले

इकागज |
फागुन ३०, २०८० बुधबार १३:५० बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको कामलाई इतिहासले सम्झिने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।

'३ महिनाअघि प्रधानमन्त्री प्रचण्डसँग संवाद भयो । एउटा औषत नेताले त आफ्‍नो छविको बारेमा चिन्ता गर्छ भने प्रधानमन्त्री प्रचण्ड संघर्षपूर्ण राजनीतिबाट उदाएको आफ्‍नो जीवनको उतार्धमा एउटा वरिष्ठ नेताले आफ्‍नो लेगेसीको बारेमा खोजी गर्छ विचार पुर्‍याउँछ' वाग्लेले भने 'म केका लागि चिनिन चाहन्छु भन्ने कुरा राजनीतिमा सबै वरिष्ठ नेताहरूलाई भइदिने हो भने यो देश धेरै अगाडि बढिसकेको हुन्थ्यो ।'


'सशस्त्र द्वन्द्वको विधिप्रति मेरो विमति थियो छँदैछ । तर यस देशका सिमान्तकृत समुदायहरूको राजनीतिक जागरण सचेतना सशक्तिकरण समावेशी सशक्तिकरणको जग निर्माणमा हाम्रा वर्तमान प्रधानमन्त्री प्रचण्डलाई इतिहासले सम्झिनेछ' वाग्लेले भने 'तर थप के भन्ने कुरामा प्रचण्डसँग कुरा भएको सम्झिन्छु । सामाजिक प्रगतिबारेमा केहि गरियो आर्थिक उन्नतीको विषयमा पनि केहि गर्न सकिन्न ? भन्‍ने प्रधानमन्त्रीको चासो हामीलाई जायज लागेको थियो ।'

'३ महिनाअघि पनि, एक हप्ता दिनअघिसम्म प्रधानमन्त्रीको कुर्सी हल्लिएको थिएन् । त्यसैले अस्थिरता र बेइमानीको जस्ता भाष्यभन्दा माथि उठेर उहाँको बेचौनीको जरैसम्म पुग्यौँ भने हामीले उहाँलाई न्याय गर्न सक्छौँ । व्याज खाएर कुर्सी ओगटेर होइन् कामै गरेर राष्ट्रहितका सवालमा उहाँको लेगेसी चाहनालाई जोखिम मोलेर साथ दिएका हौँ' उनले भने ।


Author

थप समाचार
x