राजनीति

बागमती प्रदेश

नीति तथा कार्यक्रममाथि छलफल, विपक्षी सांसदले गरेनन् समर्थन

इकागज |
जेठ २८, २०७८ शुक्रबार १८:६ बजे

हेटौंडाः बागमती प्रदेश सभामा शुक्रबारबाट आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । छलफलमा भाग लिFदै सांसद शालिकराम जम्मकट्टेलले हावादारी नीति तथा कार्यक्रम आएको बताएका छन् । उनले विद्धानले लेखेको शब्दजालको नीति कार्यक्रम प्रस्तुत भएको भन्दै गुनगाई मात्र गाइएको बताए । एउटै कुरा धेरै बुँदामा दोहोरिएर आएको उनको भनाइ छ । उनले छलफल नै नगरी बहुवर्षीय योजनाहरुको लागि बजेट सिलिङ जिल्ला जिल्लामा पठाएकोमा आपत्ति जनाए । 

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न आफू विरोधी नभएको बताउँदै संघीय सरकारले पूर्वाधार विकास समितिलाई दिएको अनुमति खारेज नभई अगाडि बढ्न नहुने र मकवानपुर तथा काठमाडौँका नागरिकसँग शेयरको नाममा उठाइएको रकमको जिम्मा प्रदेश सरकारले लिनुपर्ने उनको भनाइ छ । उनले कमिसनको चक्करमा नलाग्न पनि सरकारलाई आग्रह  गरेका छन् । विद्युतीय सवारी खरिद प्रक्रिया अघि बढाएर जनताको पैसा नफसाउन उनले आग्रह गरे । उपलब्धी नै नभएको नीति तथा कार्यक्रम समर्थन गर्न नसक्ने उनले स्पष्ट गरेका छन् । 


यता सांसद राजेन्द्र पाण्डेले पनि सुरुङमार्ग निर्माण गरेर अहिले १८ अर्ब बजेट विनियोजन गरेर काम गर्नु उचित नभएको बताए । यो सरकारको समय नभएकोले ११ महिनामा अर्को आउने सरकारले निरन्तरता दिन नसक्ने भएका कारण भीमफेदी कुलेखानी सुरुङमार्गमा प्राथमिकता नभएको बताए । विद्युतीय बस संचालन गरेर सरकारले चालउने विषयमा पनि प्रतिस्पर्धाका बिचमा सरकारले विद्युतीय बस चलाउन नसक्ने उनले बताए । सांसद मुनु सिग्देलले पनि विद्युतीय बस खरिद सरकारले गर्ने र चार्जिङ स्टेशन नीजि क्षेत्रलाई बनाउन दिने भन्दा पनि सरकारले चार्जिङ स्टेशन निर्माण गरेर नीजि तहलाई बस चलाउन दिनुपर्ने बताइन् ।

सांसद प्रभाव तामाङले भने नीति तथा कार्यक्रम वैद्यता नआएको बताएका छन्  उनले जेठ १४ मा प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गरेको र जेठ १५ मा अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी ०७८/७९ बजेट बक्तव्यलाई आधार मानेर नीति कार्यक्रम प्रस्तुत गरेकोले यसको वैद्यता प्रष्ट गर्न सरकारसँग माग गरे । सांसद रमेश पौडेलले पनि हावदारी नीति र कार्यक्रम आएकोले विश्वास योग्न नभएको बताए ।

सांसद नरोत्तम वैद्यले भने आगामी वर्षमा सांसदले बाड्ने ३ करोड र समानुपातिक सांसदलाई दिने गरेको १ करोड रुपैयाँ बजेट विनियोजन नगर्न सुझाव दिए । उनले यो रकमले कोभिड खोप किनेर प्रदेशबासीलाई लगाउनु पर्ने माग राखे । सांसद विशाल खड्काले भने सुशासन फोकस नीति तथा कार्यक्रम नआएको भन्दै समर्थन गर्न नसक्ने बताएका छन् ।

सांसद विराजभक्त महर्जनले प्रदेश सरकारले राजश्व बढाउने भनेर ल्याएको नीतिको विरोध गरे । राजश्व बढ्दा महंगी बढ्ने हेक्का सरकारले नराखेको उनको भनाई थियो । कोभिड आम नागरिक थलिएको बेला सरकार राजश्व बढाउने तिर लागेको भन्दै सेवा दिने कुरा नगरेको बताए । संघ सरकार चुरेको ढुंगा गिटी बालुवा बेच्नुपर्छ भन्छ प्रदेश नीतिमा यसलाई बचाउनुपर्छ भनेर दुई चरित्र देखाएको उनले बताए ।

गत ४ वर्षमा ल्याएको नीति कार्यक्रमको समिक्षा गरेर सार्थ नीति कार्यक्रम ल्याउनुपर्ने उनले जोड दिए । शुक्रबार प्रदेश सभामा बोल्ने अधिकांश सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गरेनन् । शुक्रबार ४५ सांसदले छलफलमा बोलेका थिए । उनीहरुले आगामी नीति तथा कार्यक्रमबारे चर्का आलोचना गरे । लगातार पौने ५ घण्टा चलेको प्रदेश सभा वैठक शनिबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ ।   


Author

थप समाचार
x