इलाम २ बाट पत्रकार मिलन लिम्बूको स्वतन्त्र उम्मेदवारी घोषणा
काठमाडौँ- पत्रकार तथा नेपाल आदिवासी जनजाति पत्रकार माहासंघ (फोनिज) का केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौँमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न लागेको घोषणा गरेका हुन् ।
संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) नेता सुबास नेम्वाङको मृत्युपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त छ । इलाम २ मा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ । ‘पार्टी होइन स्वतन्त्र, भ्रष्ट होइन इमान्दार !’ भन्ने नारासहित ‘सामाजिक न्याय, सुशासन, विकास र पहिचान’ लाई आफ्नो अभियान बनाउँदै इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दिन लागेको लिम्बूले बताए ।
व्यवस्था परिवर्तन भए पनि राजनीतिक दलहरूको गैरजिम्मेवारीपनले गर्दा नागरिकको अवस्था परिवर्तन नभएको बताउँदै लिम्बूले भने, ‘राजनीतिक दलहरूले नेपाली नागरिकसामू गरेका बाचाहरूलाई पूरा गर्नु त कहाँ हो कहाँ उनीहरू आफैँलाई सर्वोपरि ठान्दै सत्ता लिप्सामा लिन हुन पुगे ।’ राजनीतिक दलहरूको सिण्डिकेट तोड्न र जनताको मतको सम्मानका लागि इलामेली नागरिकले आफूलाई उम्मेदवारी दिन लागेको उनले बताए ।
झण्डै डेढ दशकदेखि पत्रकारिता तथा इलामको सामाजिक सेवामा सक्रिय छन् लिम्बू । पत्रकारिताको माध्यमबाट निरन्तर आमजनताको सवाल उठाउँदै आएका लिम्बुले भने, ‘यतिका वर्ष मैले पत्रकारिताको माध्यमबाट आमजनताका सवाल उठाए । तर, तिनको समाधान भएन । त्यसैले आफैँ राजनीतिको मैदानमा उत्रिएको हुँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया