राजनीति

पैसा कमाउन डाक्टर बन्‍नेले महामारीमा बिरामीको सेवा गर्दैनन् : नारायणमान बिजुक्छे

इकागज |
जेठ २८, २०७८ शुक्रबार १९:२० बजे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पैसा कमाउने उद्देश्यले डाक्टर पढेकाहरूको असली चरित्र महामारीको समयमा देखिने बताएका छन् । ख्वप बहुप्राविधिक अध्ययन संस्थान भक्तपुरको आयोजनामा जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा कार्यरत स्वास्थ्यकर्मीहरूसँग शुक्रबार भएको भर्चुअल कार्यक्रममा बिजुक्छेले पैसा कमाउन डाक्टर बन्‍नेहरूले महामारीमा बिरामीको सेवा नगर्ने आरोप लगाएका हुन् ।  

‘कोभिड-१९ महामारी पनि एकप्रकारको युद्ध हो । युद्धको बेला आफ्नो कर्तव्य निर्वाह नगर्ने इमानदार सिपाही हुन सक्दैनन्,’ उनले भने, ‘महामारीको समयमा चिकित्सक, नर्स तथा कर्मचारीले अझ बढी सक्रियतापूर्वक निःस्वार्थ भावले काम गर्नुपर्छ । पैसा कमाउने उद्देश्यले डाक्टर पढेकाको असली चरित्र अहिले थाहा भयो ।’ 


त्यस्तै स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीहरूको खराब व्यवहारमाथि नागरिकको गुनासो आउनु स्वाभाविक रहेको उल्लेख गर्दै त्यस्ता स्वास्थ्यकर्मीलाई कमी कमजोरीलाई समयमै सुधार गर्न  उनको सुझाब छ । 

भक्तपुर नगरपालिकाको आ‍ह्वानमा नागरिकले प्रकोप व्यवस्थापन कोषमा करोडौंको रकम जम्मा गरेकोप्रति उनले खुसी समेत व्यक्त गरे । भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले जनताको साथ, सहयोग र मायाले भक्तपुर नगरपालिकालाई अझ उत्साहित भएर अगाडि बढ्न उत्साह मिलेको बताए ।

उनले भने, ‘ख्वप अस्पतालले भविष्यमा राष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिने सोचका साथ अगाडि बढिरहेको छ ।’ त्यस्तै महामारीको समयमा स्वास्थ्यकर्मीहरू पछि हट्दा समाजलाई जोगाउन मुस्किल पर्ने उनले सुनाए । उनले क्यानाडाका डा.नर्मन बेथुनले चीनको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गर्दै विश्‍वभर बेथुनलाई चिकित्सकले आदर्शको रुपमा लिने गरेको र नेपाली चिकित्सकहरूले उनीबाट प्रेरणा लिएर सेवा गर्नुपर्नेमा जोड दिए । 

ख्वप अस्पतालको लागि अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य सामाग्री व्यवस्था गर्न बालक, युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले भावविह्वल बनाएको नगर उपप्रमुख रजनी जोशीले सुनाइन् । उनले भनिन्, ‘ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य सुरु भइसकेको छ । अब जनताबाट प्राप्त सहयोग रकम जनताकै निम्ति सदुपयोग हुनेछ ।’     
 


Author

थप समाचार
x