राजनीति

सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई गृहमन्त्री लामिछानेको चुनौती

इकागज |
चैत १०, २०८० शनिबार १७:३९ बजे

फाइल तस्बिर

काठमाडौँ-  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौती दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोजेको र आफूलाई सदनमा समेत बोल्न नदिएको भन्दै आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौती दिएका हुन् । कांग्रेस जस्तो इतिहास बोकेको पार्टीले प्रमाणबिना बोलेको भन्दै उनले कांग्रेसकै नेता तथा विज्ञहरूमाझ सार्वजनिक रूपमा यस विषयमा बहस गर्न तयार रहेको बताए ।


रास्वपा सभापति समेत रहेका लामिछानेले आफूले यसअघि नै छाडेको संस्थासँग जोडेर आफूलाई विभिन्न प्रकरणमा मुछ्ने काम भएको भन्दै जिवि राईलाई आकाश पाताल जहाँबाट भए पनि खोजेरै ल्याउने दाबी गरे । सहकारी बचतकर्ताको रकम ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उनले बताए ।

त्यस्तै लामिछानेले विभिन्न प्रकरणमा मुछिएकाहरूलाई प्रमाणका आधारमा जस्तोसुकै ओहोदामा भए पनि नछाड्ने स्पष्ट पारे । जतिसुकै ठूला माछा भए पनि नागरिकले दिएको शक्तिका अगाडि तिनको केही नलाग्ने उनले बताए । लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलहत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामा पत्र अहिलेदेखि झोलामा तयार रहेको धारणा राखे ।

गृहमन्त्री लामिछानेले आफूहरू जोखिम मोलेर सरकारमा गएको भन्दै काम गर्न एक मिनेट पनि समय खेर नफाल्ने बताए । लामिछाने मन्त्रीको जिम्मेवारीमा रहेका दिनसम्म आफ्नो अन्तिम दिन भनेर काम गर्न पार्टीका तर्फबाट मन्त्रीहरूलाई निर्देशन दिएको जिकिर गरे । सरकारमा रहँदा जनताको मतको दुरुपयोग नगर्ने उनको भनाइ छ । 


Author

थप समाचार
x